‘टीकापुर घटनामा सुरक्षाकर्मीको हत्या थारूले गरे भनि कुनै प्रतिबेदनले भन्दैन’
चितवन, ८ बैशाख । टीकापुर घटनाबारे नेपाल सरकारसँग ९ वटा प्रतिवेदनहरु प्राप्त भएको छ । तर रेशम चौधरीलगायत कैलालीका थारूहरुले सुरक्षाकर्मीसहितको नाबालकको हत्या गरेको कुनै पनि प्रतिवेदनले ठहर नहरेको पूर्व सभासद रुक्मिणी चौधरीले बताइन् ।
भरतपुरको नेपाल बार एशोसिएशन सभाहलमा शनिबार भएको थारूकल्याणकारिणी सभा चितवनको शुभकामना आदान–प्रदान तथा विदाई कार्यक्रममा पूर्व सांसद चौधरीले यस्तो बताएका हुन् ।
विशिष्ट अतिथिकारुपमा आमन्त्रित थरुहट थारुवन संयुक्त संघर्ष समितिको जनजागरण तथा जनपरिचालनका संयुक्त टोलीकातर्फबाट चौधरीले उक्त धारणा राखेकी हुन् ।
हाल प्रहरी प्रशासनले प्रतिवेदनहरु लुकाएर एकजना मानसिक सन्तुलन बिग्रेका १३ वर्षीय युवकले दिएको बयानका आधारमा २६ जना थारूहरुलाई झुटा मुद्दा लगाई पुर्पक्षका लागि ३२ महिनासम्म थुनामा राखेको भन्दै चौधरीले आक्रोश व्यक्त गरिन् ।
मानसिक सन्तुलन बिग्रेका १३ वर्षीय युवकका आमा जनयुद्धमा बेपत्ता पारिएको महिला हुन् । उनको नाम करन चौधरी हो । उनी कैलालीका जानकी गाउपालिकाको हो । आमा बेपत्ता पारिए पछि एक्लो छोरा डिप्रेसनमा परी मानसिक सन्तुलन गुमाएका हुन् चौधरीले भनिन् ।
नेपाल सरकारले मानसिक सन्तुलन बिग्रेको बालकलाई थुनेर अन्याय गरेको र न्यायकालागि विभिन्न निकायहरुको ढोका ढक्ढकाए पनि कतैबाट सुनुवाई नभएको गुनासो गरिन् ।













