प्रहरीमाथि हातपात गरेको आरोपमा दुई महिला थुनामा

धनगढी, ७ बैशाख । धनगढी उप–महानगरपालिकाका दुई महिलालाई प्रहरी माथि हातपात गरेको आरोपमा शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले थुनामा राखेको छ ।

हसनपुर स्थित अनुष्का देउवा र मिलन चोकका अनु अधिकारी सीमापारिबाट आज विहान ८ बजे ५/५ पीस कुर्तासुरुवालका कपडा ल्याउने क्रममा त्रिनगर भन्सारका प्रहरीले अबैध मालसामान रहेको भन्दै उनीहरुलाई रोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बीरबहादुर बुढामगरले दुबै महिला लामो समयदेखि अबैध मालसामान ओसारपोसार गर्ने गरेको बताए । उनले अबैध कपडा लान पाईदैन भनेपछि ति महिलाहरु टोलीमा खटिएका प्रहरीमाथि नै हातपात गरेको बताए ।

उता प्रत्यक्षदर्शी कुशल शाही आफूपनि अनुष्का र अनुसंगै गौरीफन्टा गएको बताउदै उनीहरुले ५/५ पीस कुर्तासुरुवाल ल्याएको बताईन् । उनले आफू भने २ केजी चिनीमात्रै ल्याएकोले प्रहरीले आफूलाई नरोकेको बताईन् ।

कुशलका अनुसार त्रिनगर भन्सारका प्रहरी प्रमुख जीवन गुरुङ्गको टोलीसहित ६ जना प्रहरी र ३ जना अन्य केटाहरुको समुहले अनुष्का र अनुसंग १० हजार घुस मागेको बताईन् ।

अनु र अनुष्काले घुस नदिएपछि उनीहरुलाई बुटले हान्ने, लछार पछार गरि आफ्नो बर्दी आफै च्याटेर उनीहरुमाथि उल्टै मुद्दा दायर गरेको शाहीले बताईन् ।

ती महिला र प्रहरी बिच विवाद भएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको हो ।

उनीहरुमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाईएको छ प्रवक्ता बुढामगरले बताए । उनले अबैध सामान ओसारपोसर गर्नेहरु समातिएपछि उल्टो आरोप लगाउने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउदै प्रहरी माथि हातपात गर्नेलाई जो कोहीलाई पनि कानुनी सजाई दिने बताए