तीन बर्षमा सम्पन्न हुनुपर्ने पुल छ बर्षमा दुई पिल्लर मात्रै निर्माण
कैलाली, ६ बैशाख । हुलाकी राजमार्ग अन्तर्गत कैलारी गाउँपालिका–५, पवेरा नालामा निर्माण कार्य स्थगित रहेको पुलको काम पुनः सुचारु गर्ने निर्णय भएको छ ।
आर्थिक वर्ष २०६९र०७० मा ठेक्का सम्झौता भएको उक्त पुल २०७१ चैत मसान्तसम्म निर्माणको काम सम्पन्न गरि सक्नु पर्नेमा हालसम्म दुई पिल्लर मात्रै निर्माण भएको छ । महादेव खिम्ती हेमन्त ६ स्वाँर जेडी निर्माण कम्पनीले ठेक्का पाएको पुलको स्थानीय ठेकेदार जगदीश भट्ट काम सुरु गरेका थिए । निर्माणधिन पुलको दुई पिल्लर मात्रै बनाएर ठेकेदार दुई बर्षसम्म सम्पर्कमा नआएपछि हुलाकी सडक डिभिजन कार्यालय धनगढी कालो सूचीका लागि गत बर्ष सूचना प्रकाशित गरेको सव इन्जिनियर विरबहादुर कोली बताए ।
ठेकेदार जगदीश भट्ट सम्पर्क विहिन भएपछि डिभिजन कार्यालय कार्वाहीको लागि सूचना प्रकाशित गरेपछि अर्को पार्टनर लक्ष्मण स्वाँर अधुरा काम गर्ने इच्छा देखाउदै कारबाही नगर्न आग्रह गरेको हुलाकी सडक आयोजनाका सहायक इञ्जिनियर कोली बताए ।
यता निर्माण भईरहेको पुलको उचाई आवश्यकता भन्दा बढी भएको भन्दै स्थानीयहरु उचाई घटाइनु पर्ने माग गर्दै आएका छन् । पुलको संचरना फेरबदल गरेर पिल्लरको उचाई आठ मिटरबाट झारेर दुई मिटर मात्रै बनाउनु पर्ने भन्दै निवेदन परेकोमा विभागद्वारा पहिले सर्वे अनुसार आठ मिटर उपयूक्त रहेको पत्र पठाएपछि निर्माणको काम अघि बढाउने निर्णय गरेको हुलाकी सडक आयोजना प्रमुख मनिषकुमार शाह बताए । निर्माणको काम अघि बढाउने भनि यहि चैत २२ गते सार्वजनिक सूचना प्रकाशित भएपछि लक्ष्मण स्वाँर काम गर्ने इच्छा सहित आएको सहायक इन्जिनियर कोली बताए ।
एक करोड ४ लाखमा ठेक्का भएको पुलको लम्बाई २० मिटर र पिल्लरको उचाई आठ मिटर रहेको हुलाकी सडक डिभिजन कार्यालय जनाएको छ । पुलको उचाई कम गर्नु पर्ने भन्दै सुरु देखि विरोध आएकोले काममा सहजता होस भनि सोमबार प्रतिनिधि सभा सदस्य नारादमुनी राना, प्रदेश सदस्य नेपालु चौधरी, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, हुलाकी राजमार्ग योजना प्रमुख मनिषकुमार शाह, निर्माण व्यवसायी विकास स्वाँर, दिपेन्द्र स्वाँर र वडा नम्बर ५ का वडाअध्यक्ष विष्णु प्रसाद चौधरी लगायतका सहभागितामा स्थागित रहेको उक्त पुलको निर्माणको कार्य अघि बढाउने निर्णय गरेका थिए ।
उ निर्णयमा पुरानो डिजाइन अनुसार पुल बनाउनु पर्ने, निर्माण कम्पनीलाई यहि बैशाख ३ गते निर्माणको लागि अनुमति दिने, मुअब्जा पाएका घरटहरा हटाउने र पुल निर्माण गर्ने बेला प्रभावित हुने सिंचाई कुलिया र सहायक सडक व्यवस्थित रुपमा बनाउनु पर्ने निर्णय भएको थियो ।
पुलको उचाई घटाउनु पर्ने माग
उक्त पुलको उचाई घटाईनु पर्ने स्थानीयहरुले माग गरेका छन् । पुलको डिजाइन अनुसार त्यहाँ त्यस्तो कुलो नरहेको र पुल बनेपछि नजिकै रहेको भौतिक संरचना बिग्रने भएकोले पुलको उचाई घटाउनु पर्ने माग गरेका हुन । स्थगित रहेको पुलको काम बढाउनु पर्ने भन्दै संघ, प्रदेश, स्थानीय तहका प्रतिनिधि, हुलाकी सडक आयोजना र ठेकेदार स्थानीयबासीको सहमति बिना निर्णय गरेको स्थानीय रामकुमार महतों बताए । आफुहरु विकास विरोधी नभई पवेरा बजारको संरचना, पुलको चारै तिर पर्ने सहायक सडक र सिंचाई कुलिया मासिन सक्ने भन्दै पुलको उचाई कम गर्नु पर्ने माग राखेको महतों बताए ।
अर्का स्थानीय प्रेमबहादुर चौधरी पुलको उचाई कम गरेपछि पुलको चारैतिर पर्ने कुलो र सहायक सडक बच्न सक्ने बताए । स्थानीयहरु पुलको उचाई दुई मिटर घटाउनु पर्ने माग राखी जिल्ला प्रशासन कार्यालय, सडक विभाग र हुलाकी सडक आयोजनामा ज्ञापनपत्र समेत बुझाएका छन् । तर हुलाकी सडक आयोजना प्रमुख मनिषशुमार शाह विभागद्वार सर्वे अनुसारको डिजाइन उपयूक्त हेको भन्दै पत्र पठाएको जानकारी दिए । उनले पुलको चारैतिर पर्ने सहायक सडक र सिंचाई कुलिया हुलाकी सडक आयोजनाले बनाउने बताए ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी आएको आयोजना रोक्नु भनेको विकासको काम पछाडि पार्नु भन्दै विकासको कामलाई बाधा पुगाउनु भन्दा सहयोग गर्न आवश्यक रहेको बताए । ठेक्का रोक्नले बजेट पनि फ्रिज जाने र पुनः सर्वे, डिजाइन गर्न बर्षौ लागने भएकोले विकास विरोधी काम नगर्न सबैमा आग्रह गरे ।
धनगढी–सत्तीसम्म तीन पुल निर्माण हुन बाँकी
हुलाकी सडक अन्र्तगत धनगढी देखि सत्तीबजार सम्म तीन पुल अझै बन्न बाँकी रहेको छ ।
हुलाकी सडक डिभिजन कार्यालय धनगढीका अनुसार १२ पुल मध्ये तीन पुलको निर्माणको काम बाँकी रहेको सहायक इन्जिनियर विरबहादुर कोली बताए ।
उक्त पुल मध्ये कैलारी गाउँपालिका–५ पवेरानाला ९भुइयाकुलुवा०को पुल, कटैनी पुल र कान्द्रा नदिनमा पुल बन्न बाँकी रहेको बताए । उनले कटैनी नदिमा निर्माण भइरहेकोे पुलको काम अन्तिम चरणमा पुगेको बताए । तर ठेकेदार सम्पर्कमा नआए पछि फिनिसिङ र माटो भरणको काम हुन नसकेको बताए ।
त्यस्तै ९९ सय मिटरको कान्द्रा नदिमा सम्पन्न भईसक्नु पर्ने अवधि यहि असारमा सकिने तर अहिले सम्म पिल्लर बनाउने काम मात्रै भएको इन्जिनियर कोली बताए । उक्त पुल बनाउने ठेक्का लामा शाल्पा शेर्पा विरुवा कम्पनीद्वार संयूक्त रुपमा सम्झौता भएर ठेकेदार विकास झा काम गरिरहेको बताए । निर्माण काम जारी रहेकोले पुनः म्याद थप्ने सवईन्जिनियर कोली बताए ।













