नयाँ नेतृत्वका लागि कुँवर प्यानल घोषणा

कैलाली, ६ बैशाख । कैलाली उद्योग वाणिज्य संघको ४६ औं साधारण सभा बैशाख २२ गते हुँदैछ । बि.स. २०२७ सालमा स्थापना भएको कैलाली उद्योग वाणिज्य संघको ४६ औं साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गर्दै छ । करिब नौ हजार सदस्य रहेका छन् ।

‘व्यावसायीक एकता र आर्थिक समृद्धि’ भन्ने नाराका साथ कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार पुष्पराज कुँवर प्यानलको उम्मेदवारी आज धनगढीमा घोषणा भएको छ ।

बि.स. २०६२ सालमा देशकै उत्कृष्ट उद्योग वाणिज्य संघ बन्न सफल भएको कैलाली उद्योग वाणिज्य संघको आगामी नयाँ कार्यकालका लागि कुँवर प्यानलबाट बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष (वाणिज्य) गगन केशी, उपाध्यक्ष (बस्तुगत) शिव कुँवर, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरु रहेका छन् ।

यस्तै, सदस्यहरुमा मनोज अग्रवाल, केशबराज जोशी, तोपबहादुर केशी, शिव सापकोटा, मिलन कुँवर, तिलक खतिवडा, सुरेन्द्र बोहोरा, लक्ष्मणराज पन्त, धनबहादुर चौधरी रहेका छन् ।

उम्मेदवारी घोषणा गर्दै कुँवर नेतृत्वको प्यानलले ९ बुँदे प्रतिबद्धताहरु जनाएको छ । प्रस्तुत गरेको प्रतिबद्धतामा भारतसंग जोडिएको गौरीफन्टा नाका र बझाङ्गको चैनपुर हुँदै चिनसंग जोड्ने ताक्लाकोट नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा स्थापना गर्न पहल गर्नेदेखि प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने सुन्दर सुदूरपश्चिम भ्रमण वर्ष २०७५ आयोजना गर्ने सम्म रहेका छन् ।

अन्य प्रतिवद्धतामा विशेष आर्थिक क्षेत्र स्थापना स्थापना तथा विशेष औद्योगिक प्याकेज घोषणा गर्न पहल गर्ने, कृषि क्षेत्रको विकासका लागि ‘एक स्थानिय तह एक उत्पादन क्षेत्र’ लगायतका अवधारणालाई विकास गर्दै कृषिको आधुनिकिरण र आत्मनिर्भरत उत्पादनहरुमा आयात निरुत्साहित गर्ने निति लागु गर्न प्रदेश सरकारसंग समन्वय गर्ने लगायतका रहेका छन् ।

प्यानलको उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष गोपाल हमालले देशमा आर्थिक सम्बृद्धिका लागि व्यावसायीलाई सम्मान गर्नुपर्ने बताए । व्यवसायी देशको रक्त सञ्चार भएको बताउँदै हमालले जुन देशमा व्यावसायीलाई सम्मान गरिन्छ त्यो देश समृद्धिको बाटोमा अघि बढ्छ भन्ने तर्क दिए ।

कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले संघ जातिय, बर्गिय भन्दा माथि उठेर आर्थिक समृद्धिको लागि प्रदेशमा नेतृत्व गर्नुपर्ने बताए । कार्यक्रममा पूर्व अध्यक्ष कर्णबहादुर कुँवर र पूर्व वरिष्ठ उपाध्यक्ष राजेश भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।