मुख्यमन्त्री भट्टका छोरी सरकारी विद्यालयमा भर्ना
धनगढी, ५ वैशाख । सामुदायिक विद्यालयको गुणस्तर ओरालो लागिरहेको बेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।
मुख्यमन्त्री भट्टले बुधबार आफ्नै छोरी पुष्पालाई धनगढीको उत्तर बेहडीमा रहेको सामूदायिक विद्यालय राष्ट्रिय माध्यमिक विद्यालयमा भर्ना गरेर विद्यालय भर्ना अभियानको उद्घाटन गरेका छन् ।
पत्नी दुर्गासहितलाई लिएर मुख्यमन्त्री भट्ट छोरीलाई आफ्नो सरकारी विद्यालयमा भर्ना गर्न राष्ट्रिय माविमा पुगेका हुन् । पुष्पा कक्षा ८ मा भर्ना भएकी छिन् ।
छोरीको भर्नासंगै विद्यालयका तर्फबाट नयाँ पाठ्यपुस्तक समेत हस्तान्तरण गरे । आफ्नै छोरीलाई भर्ना गरेर मुख्यमन्त्रीले विद्यालय भर्ना अभियानको उद्घाटन गरेका हुन् । राजनीतिज्ञले आफनो छोराछोरीलाई महँगो वोर्डिङ तथा विदेशमा पढाउने परम्परालाई तोड्दै मुख्यमन्त्री भट्टले भर्ना गरेका छन् । यसअघि उनको छोरीहरु डोटीको देवस्थल माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका थिए ।

आफ्ना छोरीहरुलाई भर्ना गर्दै उनले सवैले आ–आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने वातावरण बनाउने बताए । त्यसका लागि नीति बनाउने कार्य भइरहेको समेत मुख्यमन्त्री भट्टको भनाई छ ।
कक्षा ८ सम्मको अध्ययन गरेका मुख्यमन्त्री भट्ट मुलुकको शैक्षिक प्रणाली र गरिबीको कारण आफ्नो उच्च शिक्षा हासिल गर्ने धोको आधुरै रहेको बताए । आउँदै पिढीले गरिबीको कारण शिक्षाको ज्यातिबाट वञ्चित हुन नदिन तर्फ प्रदेश सरकार प्रतिवद्ध भएर लागेको पनि मुख्यमन्त्री भट्टले उल्लेख गरे । मुख्यमन्त्री भट्ट डोटीको के।आई।सिह गाउँपालिकास्थित देवस्थल प्राथमिक विद्यालयमा पढेका थिए ।
प्रदेश ७ मा ६ हजार बढी बालबालिका विद्यालय बाहिर
प्रदेश ७ का नौ जिल्लामा करिब ६ हजार ४२२ बालबालिका विद्यालय वाहिर रहेको पाइएको छ ।
क्षेत्रीय शिक्षा निर्देशनालयको तथ्यांकअनुसार बाजुरामा ४३२, बझाङमा ५१४, अछाममा १५६, डोटीमा ४७७, कैलालीमा २ हजार ३९४, दार्चुलामा २६३, बैतडीमा ११४, डडेल्धुरामा ३३२ र कञ्चनपुरमा ६४० बालबालिका विद्यालयको पहुँबाट बाहिर रहेको जनाइएको छ ।













