प्रदेश ७ को अल्पकालिन बजेट बैशाख ७ गते ल्याउने तयारी

कैलाली, ३ बैशाख । प्रदेश ७ को अल्पकालिन बजेट बैशाख ७ गते ल्याउने तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बताए ।

सोमबार बसेको सांसद बैठकबाट प्रदेश ७ को निति तथा कार्यक्रम पास भएलगत्तै मन्त्री बोहरा प्रदेश सातको अल्पकालीन बजेट ल्याईने तयारी बारे जानकारी गराए । चैत २८ गतेको संसद बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले सरकारको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यता प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षलाई समेत साथमा लिएर प्रदेशको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रदेशको विकासका लागि कुनै एक पार्टी र व्यक्तिले मात्र सम्भव नभई सबैको सहयोग आवश्यक रहेको बताए । सोमबार प्रदेश ७ को संसद बैठकमा बोल्दै मुख्य मन्त्री भट्टले यस प्रदेशमा प्रतिपक्ष दल नेपाली काँग्रेसको पनि आफुले राम्रो सुझाव र सहयोग पाईरहेको बताए ।