आज आमाको मुख हेर्ने दिन

धनगढी, ३ बैशाख । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरि मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने गरिन्छ ।

मातातीर्थ औंसीका दिन जीवित आमालाई मिठा मिठा परिकार र नयाँ बस्त्र उपहार दिएर सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गर्न गरिन्छ ।

आजका दिन बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने प्रचलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।