कृषि मन्त्रीद्धारा अनुगमन, दुई दिन भित्रै लिखितरुपमा यथार्थ विवरण पेश गर्न निर्देशन
धनगढी, २ बैशाख । मालपोत, भूमि तथा नापी कार्यालयमा सेवालिन गएका सेवाग्राहीहरु कार्यालयको व्यवहारबाट दिक्दार भएर घर फिर्ता हुनुपरेको जनगुनासो पश्चात भूमि सुधार, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सो कार्यालयको अनुगमन गरेका छिन् ।
जनगुनासो बढेपछि मन्त्री चौधरी, सचिव हरिहर अधिकारीलगायतको टोलीले आज (आइतवार) धनगढीस्थित जिल्ला मालपोत, नापी र भूमि सुधार कार्यालयको छड्के अनुगमन गरेका हुन् ।
अनुगमनको क्रममा मन्त्री चौधरीले सेवाग्राहीबाट ती कार्यालयहरुबाट प्रवाह हुने सेवाको अवस्था बुझेकी थिइन् । उनले दुई दिन भित्रै कार्यालयहरुको अवस्था तथा समस्या समाधानको लागि लिखित विवरण बुझाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिइन् ।
‘जनगुनासो बढी आयो, तपाईंहरुको समस्या के हो ? सेवाग्राहीलाई कसरी छिटो छरिटो रुपमा सेवा दिन सकिन्छ ?, मलाई दुई÷तीन दिनभित्रै यहाँको अवस्थावारे विवरण दिनुस्,’ कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै मन्त्री चौधरीले भनिन् , ‘हामी नयाँ व्यवस्थाको कुरा गर्छौं, तर तपाईंहरुको काम गर्ने शैली उहि पुरानै छ, यहि अवस्थाले हामीले भन्ने गरेको सिंहदरवारको सेवा जनताको घरदैलोमा कसरी पुर्याउन सक्छौ ?’

यसैबीच साविकको लागि मालपोत कार्यालय पुगेका धनगढी उपमहानगरपालिका–१२ का जनक जोशीले विहानदेखि लाइनमा बसेर पनि सेवा नपाएको मन्त्री चौधरीसँग गुनासो पोखे । कर्मचारी र राजनीतिक दलको नेता कार्यकर्ताहरुलाई क्षणभरमा सेवा दिने गरेको तर सर्वसाधारणहरुले दिनभरी लाइनमा बस्नुपर्ने बाध्यता रहेको उनको आक्रोश थियो ।
यसैबीच मन्त्री चौधरीले तत्काल ‘टोकन सिस्टम’बाट सेवा प्रवाह गर्नुपर्ने र सीसी क्यामेरा जडान गरी सेवा दिन निमिक्त मालपोत अधिकृत मनोहर श्रेष्ठलाई निर्देशन समेत दिइन् ।
निमित्त मालपोत अधिकृत श्रेष्ठले कम्युटर अभाव र केही जनशक्ति अभावले सेवा प्रवाहमा कठिनाइ भएको उल्लेख गरे ।
त्यस्तै, मन्त्री चौधरी भूमि सुधार प्रमुखसँग मुक्त कमैया समस्या बारे जानकारी लिदै मुक्त कमैयाहरुलाई सेवाको नाममा दुःख मात्रै दिएको भन्दै तत्काल प्रभावकारी सेवा दिन निर्देशन दिइन् ।

‘मुक्त कमैयाहरुलाई जग्गाको नाममा खोला, नदी किनारमा जग्गा दिइएको छ, लालपूर्जा छ, जग्गा छैन, यो के हो ?’ उनले भनिन् ‘घर बनाउन काठ या काठको सट्टा पैसा दिइन्छ । तर कागजी रुपमा मात्रै काठ दिइएको देखिएको छ, यथार्थ रुपमा अझै नपाएको गुनासो आएको छ । दुई दिनभित्र यथार्थ विवरण मलाई उपलब्ध गराउनुस् ।’
पछिल्लो समय मालपोत, भूमि सुधार र नापी कार्यालयप्रतिको जनगुनासो बढ्दै गएको छ । घुसको पैसामा कुरा नमिल्दा गत फागुन १७ गते कार्यालय समयमा रक्सी पिएर आपसमा कुटाकुट गरी होहल्ला गर्ने जिल्ला मालपोत र नापी कार्यालयका चार जना कर्मचारीहरु निलम्बनमा परेका थिए ।
मालपोत कार्यालयका नायव सुब्बा पूर्णानन्द जोशी, खरिदार ज्ञानेन्द्र ओझा, नापी कार्यालयका सर्वेक्षकद्वय विरेन्द्र सिंह र महादेव जोशीलाई निलम्बन गरिएको थियो । साथै उनीहरुलाई सहयोग गर्ने लेखापढी कानून व्यवसायी नवराज जोशी र नापीका प्रयोत्गात्मक विद्यार्थी सागर कुवँरलाई पनि कारवाही गरिएको थियो ।













