बोल्ने समय कम दिएको भन्दै महिला सांसदहरुको विरोध

धनगढी, ३० चैत । प्रदेश नं. ७ का महिला सांसदहरुले आफुहरुलाई बोल्ने समय कम दिएको भन्दै बिरोध जनाएका छन् ।

प्रदेश प्रमुख मोहनराज मल्लले २८ गते संसदमा प्रस्तुत गरेको प्रदेशको नीति तथा कार्यक्रमवारे धारणा राख्ने क्रममा पुरुष सांसदको तुलनामा आफुहरुलाई कम समय दिएर विभेद गरेको भन्दै विरोध जनाएका हुन् ।

कार्य व्यवस्थापन परामर्श समितिले ५ घण्टा चल्ने संसद बैठकलाई बिहीबार ३ घण्टा र शुक्रबार २ घण्टासम्म चलाउने निर्णय गरेको संसद सचिवालयका साचिव बालराम शर्माले जानकारी दिए । उनले सो समयमा राजनीतिक दलको सीट संख्याको अधारमा समय विभाजन गरिएको बताए ।

सचिव शर्माले ५ घण्टाको अवधिमा नेकपा एमालेलाई १ सय ४० मिनेट, माओवादी केन्द्रलाई ८० मिनेट, काँग्रेसलाई ७० मिनेट र राजपालाई १५ मिनेट बोल्ने समय दिइएको बताए ।

शर्माले पार्टी भित्र कुन सांसदले कति बोल्ने भन्ने निर्णय स्वयम पार्टीका सचेतकले नै समय निर्धारण गरेको बताए ।

तर पार्टीका सचेतकले महिला र दलित सांसदलाई भने बोल्ने समयमा विभेद गरिएको सांसद पूर्ण जोशीले बताएकी छिन् । उनले नीति तथा कार्यक्रमबारे टिप्पणी गर्ने समय १० मिनेट माग गरेपनि ८ मिनेट मात्रै बोल्ने समय पाएको बताउदै टिप्पणी गर्ने सबै महिला सांसद पुरुषको भन्दा कम समय पाएको बताईन् ।

टिप्पणी गर्ने समय ५ देखि १६ मिनेटसम्म दिइएको थियो । जसमा महिला सांसदहरुले महिलाको सवालमा बढी अवाज उठाएका थिए । धेरै महिला सांसद बोल्दा बोल्दै टाईम अफ भएको थियो ।

कुन सांसदलाई कति समय ?

अर्चना गहतराज ५ मिनेट, अमर बहादुर साउँद १० मिनेट, उमाबादी ५ मिनेट, कर्ण मल्ल १० मिनेट, कुन्टी जोशी ५ मिनेट, नन्द कमारी बम ५ मिनेट, कुलबीर चौधरी १० मिनेट, कृष्ण बहादुर चौधरी ६ मिनेट, चुन कुमारी चौधरी ८ मिनेट, टेक बहादुर रैका आउजी ५ मिनेट, डिल्लीराज पन्त ५ मिनेट, दिव्यश्वरी शाह ५ मिनेट, दुर्गा कुमारी कमी ७ मिनेट, देवकी मल्ल थापा ५ मिनेट, देवराज पाठक ५ मिनेट, नन्द बहादुर साँउद ६ मिनेट, नेपालु चौधरी १० मिनेट, पुर्ण जोशी ८ मिनेट बोल्ने समय पाएका थिए ।

त्यसैगरी शुक्रबार भएको बैठकमा मना कुमारी साँउद ८ मिनेट, महेश दत्त जोशी १२ मिनेट, मानबहादुर धामी १२ मिनेट, मानबहादुर सुनार ५ मिनेट, कृष्णराज सुबेदी १० मिनेट, माया तमाङ ५ मिनेट, मालामति राना ६ मिनेट, रतन थापा १० मिनेट, लालबहादुर खड्का १० मिनेट, वीरमान चौधरी १५ मिनेट, शान्ति नेपाली ५ मिनेट, श्यामलाल थारु ५ मिनेट, सुशिला बुढाथोकी ८ मिनेट र हर्क बहादुर कुँवर १० मिनेट बोल्ने समय पाएका थिए ।