डिपिएलको अन्तिम दिनमा दर्शकको घुँइचो, भीड नियन्त्रण गर्न प्रहरीद्वारा लाठी चार्ज

धनगढी, ३० चैत । दोस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधिका लागि भईरहेको आजको अन्तिम दिन दर्शकको घुईचो लागेको छ । प्रतियोगिताको अन्तिम दिन भएकोले प्रदेश नं. ७ र प्रदेश नं. ६ को नेपालगञ्ज सम्मको दर्शक क्रिकेट प्रतियोगिता अवलोकन गर्न आएपछि ठेगिनसक्नु भीड भएको छ ।

टिम चौराहा धनगढी काठमाडौ गोल्डेन्सबिरुद्ध ब्याटिङ गरिरहेको छ । संघीय प्रहरी इकाईको मैदानमा साविक बिजेता टिम चौराहा धनगढीले टस जितेर ब्याटिङ गरेको हो ।

पहिलो क्यालिफायर्समा काठमाडौ गोल्डेन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको टिम चौराहा धनगढीले उपाधिका लागि पनि काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो क्लाइफायर्समा पराजित भएपनि दोस्रो क्वालिफायर्समा मौका पाएको काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दै उपाधीका लागि टिम चौराहासंगको भेट पक्का गरेको हो ।

सोमपाल कामीको कप्तानीमा रहेको धनगढी ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौलाई हराउँदै दोस्रो पटक पनि उपाधी घरेलु मैदानमै कब्जा गर्ने दाउमा छ ।

यता पहिलो पटक डीपीएलको फाइनलमा पुगेको काठमाडौले उपाधि जित्ने रणनीति बनाएको छ । प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ पाउनेछ ।

डीपीएलको दोस्रो संस्करणमा दर्शकको खचाखच उपस्थिति रहेको छ । धनगढीमा रहेको संघीय प्रहरी इकाईको मैदानमा भैरहेको फाइनल हेर्न डडेलधुरा, महेन्द्रनगर, नेपालगञ्जदेखि दर्शक आएका छन् ।

बाँस र फलामले बनाइएको प्याराफिटको क्षमता मात्रै ७ हजार भए पनि दर्शकको ओइरो लागेकाले रंगशालाबाहिर केही असहज स्थिति सिर्जना भएको छ । खेल हेर्न आउँदा आउँदै टिकट नपाएपछि दर्शक आक्रोशित भएका छन् ।

नेपालगञ्जदेखि दर्शक आउँदाआउँदै टिकट काट्न नपाएको भन्दै नाराबाजीसमेत गरेका छन् । मैदानबाहिर प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको छ ।

खेल हेर्न नपाएपछि दर्शकहरुले व्यवस्थापनले बाहिरै भए पनि टेलिभिजन स्क्रीन राख्न माग गरेका छन् । डीपीएल क्रिकेटको फाइनल हेर्न दुई–तीनदेखि धनगढीमा जिल्लाबाहिरका दर्शक बसेका थिए ।