धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि कस्ले हात पार्ला ?

धनगढी, ३० चैत । रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको उपाधिका लागि आज साबिक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दै छन् ।

घरेलु दर्शकको साथ पाउने टिम चौराह धनगढीले उपाधि जित्नका लागि क्वालिफायरमा जस्तै राम्रो प्रदर्शन गर्नुपर्नेछ । काठमाडौं गोल्डेन्सले राम्रो स्वाभाविक प्रदर्शन गर्नुपर्नेछ । उपाधिका लागि फाइनलमा भिड्ने दुवै टोलीका कप्तान फाइनलमा आफ्नो टोलीले राम्रो गर्नेमा विश्वस्त लिएका छन् ।

काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमले राम्रो खेलिरहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिँदै उपाधि उचाल्ने बताए । ‘सुरुदेखि नै हामीले राम्रो क्रिकेट खेलिरहेका छौं,’ काठमाडौंका कप्तान मल्लले भने, ‘यही प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछौं।’

प्रतियोगितामा १ खेल मात्र हारेको काठमाडौंका कप्तान मल्लले आफ्नो टोली सन्तुलित भएको दाबी गरेका छन् । उनले बलिङ, ब्याटिङ र फिल्डिङ सबै पक्ष राम्रो रहेको बताए ।

साबिक विजेता टिम चौराह धनगढीका कप्तान सोमपाल कामीले फाइनलमा राम्रो खेल खेलेर उपाधि जित्ने बताए ।

पहिलो क्वालिफायरमा टोलीले गरेको प्रदर्शनबाट हाम्रो मनोबल बढेको छ । उक्त खेलमा हामीले उनीहरूलाई हराइसकेका छौं । अभ्यासका लागि दुई दिन थप समय पनि पाएका छौं । फाइनलमा राम्रो खेल्छौं । बलिङ, ब्याटिङ दुवै पक्षले राम्रो गरिरहेको छ । त्यसैले जित्नेमा हामी विश्वस्त छौं ।’ टिम चौराहका कप्तान कामीले भने ।