डब्लुडब्लुजेद्धारा सल्लाहकारलाई स्वागत
काठमाडौ, ३० चैत । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले बिहीबार संस्थाका सल्लाहकारहरुलाई स्वागत गरेको छ ।
डब्लुडब्लुजे कार्यालयमै भएको कार्यक्रममा संस्थाकी अध्यक्ष अमिका राजथला र उपाध्यक्ष निर्मला आचार्यले कियोको ओगुरा, मन्टेश्वरी राजभण्डारी र अनिता बिन्दुलाई संस्थाको सल्लाहकारका रुपमा मनोनयन पत्र हस्तान्तरण गर्दै खादा र बुकेले स्वागत गरे ।
सल्लाहकारहरुलाई स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको बताउँदै संस्थाकी अध्यक्ष अमिका राजथलाले डब्लुडब्लुजेले सल्लाहकारहरुको साथ र सहयोगले संस्थालाई नयाँ उचाई दिने सोच राखेको बताइन् ।
उनले संस्थाले आगामी दिनमा पत्रकार महिला सहायत कोष, पत्रकारिता पुरस्कार तथा सम्मान कोष, पत्रकार महिलाको तथ्यांक संकलन, जिल्ला शाखालाई बलियो बनाउने, पत्रकार महिलाको राष्ट्रिय सम्मेलन गर्ने, पत्रकार महिलाको प्रोफाइल तयार गर्ने लगायतका योजना बनाएको पनि जानकारी दिइन् ।
सल्लाहकारमध्येबाट पत्रकार अनिता बिन्दुले पत्रकारितालाई ब्यवसायिक र जिम्मेवार बनाउन डब्लुडब्लुजे अग्रसर हुनुपर्ने विचार राखिन् । संस्थासँग आफ्नो भावनात्मक सम्बन्ध गाँसिएकाले आफूले सहयोग गर्न तयार भएको पनि बताइन् ।
त्यसैगरि सल्लाहकार द्वय कियोको ओगुरा र मन्टेश्वरी राजभण्डारीले पनि सक्रिय सल्लाहकारका रुपमा आफूहरुले संस्थालाई सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष संगीता लामाले डब्लुडब्लुजेलाई अगामि दिनमा नयाँ ढंगमा अगाडि बढाउन आफूहरु लागि परेको बताइन् ।
कार्यक्रममा संस्थाकी महासचिव रामकला खड्का, सचिव रमिता लामा, कोषाध्यक्ष रुक्मिणी पोखरेल र जिल्ला शाखा नवलपरासीकी सचिव सीता शर्माको पनि उपस्थिति रहेको थियो ।













