मलको अभाव नहुने: मन्त्री चौधरी

धनगढी, २९ चैत । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले ७ नम्बर प्रदेशमा रासायनिक मलको अभाव नहुने बताएकी छिन् । प्रदेशको माग अनुसार रासायनिक मलको आपूर्ति गर्ने कार्य भैरहेको बताउँदै उनले अभाव हुन नदिने बताएकी हुन् ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरको २१ औं वार्षिकोत्सव कार्यक्रमलाई आज (विहिवार) सम्बोधन गर्दै मन्त्री चौधरीले आपूर्ति संगै सहकारीमार्फत किसानहरुलाई मलको बिक्रि वितरण समेत भैरहेको बताइन् । वितरण संगै मल वितरक कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेसनले यहाँको आवश्यकताको मल भण्डारण गरिरहेको मन्त्री चौधरीको भनाई थियो ।

साथै, मल संगै किसानहरुलाई बिउ बिजन र सिँचाइको सहजताको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको पनि उनले उल्लेख गरिन् । त्यस्तै उनले प्रदेशमा सहकारीकै माध्यमबाट कृषि क्षेत्रमा व्यावसायिकता हासिल गरी रोजगारी सिर्जना गर्ने बताइन् ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममै कृषि क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेको बताउँदै कृषिमा लगानी गरी रोजगारी सिर्जना गर्ने बताएकी हुन् ।