धनगढीमा रात्रिकालिन पेनाल्टी शूटआउट हुने
कैलाली, २८ चैत । नयाँ वर्षको अवसर पारेर कैलालीको धनगढीमा रात्रिकालिन पेनाल्टी शूटआउट प्रतियोगिता हुने भएको छ । स्थानीय एसटीएस टेलिभिजनको आयोजनामा चैत्र ३० गते छैठौ एसटीएस कप रात्रिकालिन पेनाल्टी शूटआउट प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख र उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सबैभन्दा बढी गोलकर्ता, उत्कृष्ट गोलकिपर र प्रतियोगिताका ज्येष्ठ खेलाडीलाई जनही १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
३२ टिमको सहभागिता रहने उक्त प्रतियोगितामा ३२ वर्षभन्दा माथिका खेलाडीहरुकोे सहभागिता रहने छ । प्रतियोगिता अवलोकनका लागि एक सय रुपैयाँको टिकट दर कायम गरिएको छ । टिकट काटेर खेल अवलोकन गर्ने एक जना दर्शकलाई लक्की ड्र मार्फत होन्डाको नाभी मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ ।
नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा रात्रिकालिन पेनाल्टी शूटआउट प्रतियोगिता आयोजना हुँदै आएको छ ।













