बलात्कार प्रयास गर्ने टुक्की पक्राउ, मिलापत्र गराउने भलमन्सा सहित ६ जनाको नाममा पनि मुद्दा
कैलाली, २७ चैत । स्थानीय महिलालाई यौन दुर्व्यवहार पश्चात बलात्कार गर्न खोजेको अभियोगमा स्थानीयबासीले एक व्यक्तिलाई कालोमोसो दलेको र जुत्ताको माला लगाएको घटनामा प्रहरीले चासो देखाएको छ ।
कैलारी गाउँपालिका १, दक्षिण मन्झराको उक्त घटना मिडिया मार्फत सार्वजनिक भए पछि महिलामाथि दुव्र्यवहार पश्चात बलात्कार गर्न खोज्ने कृष्णबहादुर चौधरी (टुक्की) लाई र उनलाई कालोमोसो दल्ने अन्य ६ जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
चौधरीलाई कालोमोसो दल्ने, जुत्ताको माला लगाउने कार्यमा संलग्न भएको आरोपमा भलमन्सा बुद्धिराम चौधरी, स्थानीय दुखिराम चौधरी, मसराम चौधरी, खोजराम चौधरी र छेदुराम चौधरी रहेको प्रवक्ता बुढामगरले बताए ।
पक्राउ परेका ६ जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको बताए । त्यस्तै महिलामाथि दुव्र्यवहार गर्ने कृष्ण चौधरीलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिएसपी बुढामगरले जानकारी दिए ।
गत चैत २३ गते रातिको समयमा महिला एक्लै घरमा भएको बेला कृष्ण चौधरीले बलात्कारको प्रयास गरेका थिए ।
महिला कराएपछि स्थानीयले कृष्णलाई कब्जामा लिई चैत २४ गते भलमन्सा बुद्धिराम चौधरी लगायतको उपस्थितिमा कालोमोसो र जुत्ताको माला लगाउदै दुई लाख जरिवाना गराउने कागज गराएका थिए ।













