मिडिया हाउस समावेशीकरण नहुँदा वास्तविक सवाल ओझेलमा

कैलाली २७ चैत । नेपालको दक्षिणी भू–भाग तराईमा विशेषगरि थारु, दलित, मधेशी राजीलगायत अन्य पीछडा वर्गका समुदायहरुको बसोबास रहेको कैलाली जिल्लामा २०६८ को जनगणा अनुसार ७ लाख १६ हजार ६ सय ९७ जनाको जनसंख्या रहेको छ ।सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको मात्र जनसंख्या आँकलन गर्दा थारुको जनसंख्या पहिलो स्थानमा छ । त्यसैगरी क्षेत्री, ब्राह्मण, कामी, ठकुरी, दमाई, मगर, सार्की, लुहार, दशनामी आदि छन् ।

२०६८ को जनगणना अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी जनसंख्या क्षत्रीको १० लाख ६० हजार ३६५, थारुको ४ लाख ३९ हजार २६७, ब्राह्मण तीनलाख ३२ हजार २२३, कामी २ लाख १० हजार ८३५, ठकुरी एकलाख १३ हजार ५८८, दमाई ६५ हजार ६२४, मगर ५६ हजार ६६७, सार्की ४२ हजार ९४७, लोहार ३० हजार २१७, दशनामी २५ हजार ९६५, वादी १० हजार ७८६, तामाङ १० हजार ९५, नेवार सातहजार १४६, मुसलमान पाँचहजार ९५९, गुरुङ चारहजार ४७०, राजी २ हजार ३६ छ ।

यो तथ्यांकले पछाडी परेको समुदायले नै यो क्षेत्र ओगटेको देखिन्छ । तर तिनै समुदाय हरेक सूचनाबाट बञ्चित छन् । मिडिया हाउस पनि उनीहरुको पक्षमा अर्थात उनीहरुको सवालमा एकदमै कमजोर भूमिका निर्वाह गरिरहेको देखिन्छ ।
कैलाली जिल्लामा मात्रै २३ वटा दैनिक पत्रिका प्रकाशन भईरहेको छ भने २६ वटा रेडियो एफएम सञ्चालनमा छन् । यी मिडिया हाउसको मलिक प्राय ब्रामहण र क्षेत्री छन् । जिल्लामा उत्कृष्ट मानिने रेडियो दिनेश एफएममा महिलाको दृष्टिकोणले सामाबेशीकरण एकदमै राम्रो रहेको बताउछन् स्टेशन म्यानेजर अमिता कुँवर । उनी भन्छिन्, ‘रेडियो सञ्चालक समिति ३ जना मध्ये २ जना महिला छौं ।’ स्टेशन म्यानेजर महिला, मार्केटिंग म्यानेजर महिला रहेको बताउँदै न्यूज कक्षामा २० जनामा ४ महिला, टेक्निसियनमा पनि ३ जनामध्ये १ जना महिला र कार्यक्रम सञ्चालनमा ११ जनामध्ये ४ जना महिला रहेको जानकारी स्टेशन म्यानेजर कुँवरले दिइन् । उनले रेडियोमा महिला सामावेशीकरणसँगै दलित समुदायबाट १ जना महिला कार्यक्रम उत्पादक रहेको बताइन । रेडियोमा ६ जना थारु समुदायका पत्रकारहरुले विभिन्न विद्यामा काम गरिहेको उनको भनाई थियो ।

२०६४ असार १९ गते देखि सञ्चालनमा आएको रेडियोमा हालसम्म मधेशीको प्रतिनिधित्व गराउन नसकेको कुँवरले बताइन् । काम गर्ने दक्ष जनशक्तिकोलागि रेडियोको ढोका जहिलेपनि खुल्ला रहेको बताउँदै कसैलाई पनि हालसम्म जातिगत विभेद नभएको कुँवरको दाबी छ ।

जिल्लामा प्रकाश हँुदै आएको अनुमोदन दैनिक पत्रिका कैलाली जिल्लामा राम्रो छाप पारेको छ । सो पत्रिकाको मालिकदेखि सामाचारदातासम्म ब्राहमण र क्षेत्री छन् । पत्रिकामा धेरै जिम्मेवारी समाल्दै आएका एकेन्द्र तिमिल्सेनाले मिडिया हाउसमा चाहेर पनि सामाबेशीकरण गर्न नसकिने बताए । उनले मिडिया हाउसभित्र सामाबेशी हेर्नुभन्दा उसको विषयबस्तु कस्तो छ भन्ने कुराले अर्थ लाग्ने बताए ।

अनुमोदन दैनिकको सामाचार कक्षमा ५ जना मध्ये १ जना थारु रहेको बताउँदै लेखाशाखा र मार्केटमा १÷१ जना थारु समुदायबाट कर्मचारी रहेको तिमिल्सिनाले जानकारी दिए । उनले पत्रिकामा महिला, दलित, मधेशी कर्मचारी कोही नभएपनि सो समुदायको सवाललाई मिडियाले विस्तारै प्राथमिकता दिँदै आएको बताए ।

त्यसैगरी रेडियो धनगढीमा जम्मा २१ जना कर्मचारीमा ६ जना महिलाको सहभागिता रहेका छन् । दुई जना दलित र एक जनजाति रहेको रेडियोले जानकारी दिएको छ । जसमा प्रसासनिक क्षेत्रमा ६ कर्मचारीमध्ये ३ जना महिला, सामाचार कक्षमा ४ जना कर्मचारीमध्ये १ महिला, कार्यक्रम सञ्चालनमा २ महिला जसमा एक जना दलित र एक जना जनजाति, मार्केटिङमा एक जना दलित महिला रहेको रेडियोका स्टेशन म्यानेजर हरी जोशीले जानकारी दिए । उनले थोरै कर्मचारीमा रेडियो सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउँदै महिला, दलित र जनजातिहरु सामाचार वाचक, कार्यक्रम प्रस्तोताको रुपमा काम गरिहेको बताए । कर्मचारी अह्वान गर्दा हालसम्म मधेशी समुदायबाट कोही नआएको बताए ।

कैलालीको टीकापुरबाट प्रकाशित सामाधान न्यूज दैनिक पत्रिकामा पत्रिका वितरकगरि जम्मा ६ जना मात्र कर्मचारी रहेको कार्यकारी सम्पादक झलनाथ खनालले जानकारी दिए । जम्मा कर्मचारीमध्ये सामाचार शाखामा एक जना दलित, १ बाहुन र १ क्षेत्री, कम्प्यूटर अपरेटरमा एक जना थारु, व्यवस्थापकमा २ जना दलित रहेको खनालले जानकारी दिए ।

सानो मिडिया रहेकोले थोरै कर्मचारीबाट कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेकोले महिलाहरुको सहभागिता गराउन नसकेको बताउँदै खनालले विगतमा महिला वितरक भएको तर विवाहपछि उनीहरुले पेशा छोडेको बताए । परम्परागत जीवनशैली र समाजिक बन्धनका कारण पनि महिलाहरु विवाह पछि पत्रकारितामा न्यून संख्यामा छन् । कर्मचारीको अनुपातमा समाचारजन्य सामाग्रीहरु समावेशी भएको सम्पादक खनाल बताउँछन् ।

रेडियो पश्चिम टुडेका प्रबन्ध निर्देशक दीर्घराज उपाध्ययले आफ्नो रेडियो कर्मचारीको हिसाबले सामाबेशी नै रहेको जानकारी दिए ।
उनले पश्चिम टुडे रेडियोको नेतृत्व महिला नै गरिरहेको बताए । महिलाले नेतृत्व गर्ने काम विश्वनियता र पारदर्शिता भएको कारण रेडियोमा स्टेसन म्यानेजर महिला, मार्केटिंग म्यानेजर महिला र लेखाशाखामा पनि महिला कर्मचारी राखेको बताए ।

रेडियोमा सामाचार कक्षमा १ जना आदिबासी पुरुष र १ महिला, १ जना ब्राहमण महिला र १ पुरुष र २ जना क्षेत्री पुरुष कर्मचारी रहेको बताउदै सामाचार कक्षपनि लैंगिक तथा जातियताको हिसाबले समाबेशी रहेको बताए ।

त्यसै गरि प्राविधिकमा ३ जना मध्ये दुई जना जनजाती र १ जना ब्राहमण, कार्यक्रम सञ्चालकमा ७ जना मध्ये ४ पुरुष ३ महिला रहेको बताए । उनले कायक्रम संयोजकमा १ जना दलित रहेको बताउदै मार्केटमा २ जना दलित समुदायको सहभागिता रहेको बताए ।
मिडिया हाउसहरुले कर्मचारीमा सामाबेशी भएको दाबी गरिहँदा दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्रा घिमिरेले कैलालीको मिडिया हाउस सामाबेशी नभएको तर्क दिइन् । उनी भन्छन्, “दलित महिला सिमान्कृत समुदायहरुको प्रतिनिधित्व गराएर मात्रै मिडिया सामाबेशी हुँदैन । त्यो त सामावेशीकरणको नाममा सामावेशी हो ।”

सवाल उठान गर्ने ठाउँमा सामाबेशीकरण गरेमात्र मिडिया हाउस सामाबेशी भएको ठहरिने बताउँदै कैलालीको अधिकांश मिडिया दलित, महिला जनजातीहरुको निर्णयक तहमा सहभागिता नरहेको घिमिरे बताउछन् । उनले पछिल्लो चरण पिछडा वर्गको सामाचारहरु प्रकाशन प्रसारण हुँदै आएपनि त्यो सामाचार एनजिओ आईएनजिओले सञ्चालन गरेको कार्यक्रममूखी सामाचार मात्र रहेको बताइन् । उनले पीछडा वर्गको सवाल उठान गर्नमा मिडियाको चासो नै नभएको बताउदै सवाल उठान गर्ने ठाउँमा सो समुदायको प्रतिनिधित्व नहुनुको कारक तत्व रहेको बताईन् ।

घिमिरेले भनिन्, “मिडियाले बोल्न सक्नेलाई खोज्छ र स्थान दिन्छ । तर दलित महिला सिमान्तकृत समुदाय बोल्न सक्दैनन् ।” जसले गर्दा पीछडा वर्गको वास्तविक सवालपनि मोडिएर आउने गरेको उनले बताईन् । मिडिया हाउसमा जसको सवाल उसैको प्रतिनिधित्व भए सवाल उठानमा पनि सामाबेशीकरण हुने घिमिरेको तर्क छ ।

नेपाल पत्रकार महासंघ कैलालीमा २ सय १ जना साधारण सदस्य रहेका छन् जसमध्ये ४१ जना दलित र जनजाती छन् भने बाँकी ब्रह्मण र क्षेत्री रहेका छन् । जिल्ला महासंघको कार्यसमितिमा पनि दलित महिला र जनजातीहरु कोटामा मात्र सिमित छन् । तर नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जगत साउँद नेपाल पत्रकार महासंघमा प्रतिशतका आधारमा सामाबेशी रहेको दाबी गर्छन् । कैलाली जिल्लाका मिडिया हाउसहरुले थोरै जनशक्तिमा काम गर्नुपर्ने भएकोले मिडिया हाउसलाई सामाबेशी बनाउन गाह्रो हुने साउँद बताउँछन् ।