प्रदेश सरकारका नीति तथा कार्यक्रम सहित चार निर्णय स्वीकृत

धनगढी, २६ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज बसेको छैटौँ बैठकले प्रदेश सरकारको तर्फबाट प्रस्तुत हुने चालू आर्थिक वर्ष ०७४÷७५ को नीति तथा कार्यक्रम सहित ४ वटा निर्णय स्वीकृत भएको छ ।

मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए ।

उनले बैठकले प्रदेशको बजेट सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधिलाई विधेयक तर्जुमाका लागि मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको बताए ।

असिना पानी, सुख्खा खडेरीलगायत प्रांकृतिक प्रकोपका कारण भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रदेश सरकारलाई पठाउन नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय भएको शाहले बताए ।

प्राकृतिक प्रकोपको तथ्यांक संकलनपछि प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ । त्यस्तै जिल्लामा खारेजी हुन लागेका नौ वटै जिल्लाका जिल्ला प्राविधिक कार्यालयलाई आगामी वर्षको असारसम्म यथावत राख्न केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको प्रवक्ता शाहको भनाई छ ।

प्रदेश सरकारका कार्यक्रम जिल्ला प्राविधिक कार्यालयबाट सञ्चालन गर्नुपर्ने भएका कारण ती कार्यालयलाई तत्काल खारेज नगर्न प्रदेश सरकारले आग्रह गरेको हो ।