फोनिजको अध्यक्षमा पुनः गुरुङ, केन्द्रमा पाँच थारुको प्रतिनिधित्व

काठमाडौं, २५ चैत । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशनमा डण्ड गुरुङको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् ।

शुक्रबारदेखि शुरुभएको महाधिवेशनले ११ जना पदाधिकारी तथा सात प्रदेश इन्चार्जलाई सर्वसम्मत चयन गरेको हो । तर सहमति हुन नसकेपछि पाँचजना खुला सदस्य र चारजना महिला सदस्यकालागि भने मतदान भएको थियो । पाँच खुला सदस्यकालागि १६ जनाले उम्मेदवारी दिएका थिए भने चारजना महिला सदस्यकालागि पाँचजनाको उम्मेदवारी परेको थियो ।

फोनिजको वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, उपाध्यक्ष (खुला) मा लक्की चौधरी, उपाध्यक्ष (महिला) देवीका घर्तीमगर, महासचिवमा मनोज घर्तीमगर, संगठन सचिवमा मिलन लिम्बु, संस्थागत सचिवमा जगत दोङ, अल्पसंख्यक सचिव कमन देवान, कोषाध्यक्षमा अमरध्वज लामा र सहकोषाध्यक्षमा अन्जना शिल्पकार सर्वसम्मत दिर्वाचित भएका छन् ।

त्यस्तै, तीन सदस्यीय लेखा समितिका सदस्य पनि सर्वसम्मत निर्वा्चित हुनुभयो । फोनिज महाधिवेशनको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गर्नुभएको थियो ।

२०५६ सालमा स्थापना भएको फोनिजको ४९ जिल्लामा शाखा रहेको छ । त्यस्तै, पाँचवटा विदेश शाखा र आठवटा जातीय पत्रकार संगठन आवद्ध रहेका छन् । फोनिजमा करिब तीनहजार पत्रकार आवद्ध छन् । आदिबासी जनजातिको सवाल, नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन तथा आदिबासी जनजाति पत्रकारको दक्षता अभिबृद्धिकालागि फोनिजले पहल गर्दैआएको छ ।

फोनिज केन्द्रमा पाँच थारु

फोनिजको पदाधिकारीमा पहिलो पल्ट उपाध्यक्षमा लक्की चौधरी चयन भएका छन् । यसअघिसम्म केन्द्रीय सदस्यबाहेक पदाधिकारीमा कुनै थारुको प्रतिनिधित्व हुन सकेको थिएन । त्यस्तै, प्रदेश ७ को इन्चार्जमा रामचन्द्र कुश्मी, थारु पत्रकार संघको तर्फबाट संस्थागत सदस्यमा सीताराम चौधरी, खुला सदस्यमा राजु चौधरी र महिला सदस्यमा लक्ष्मी चौधरी निर्वा्चित भएका छन् ।