एकै दिनमा दुई बैठक, आर्थिक कार्यविधि (विधेयक) विधायन समितिमा पठाइयो

कैलाली, २० चैत । प्रदेश नं. ७ को दिउसो १ बजे बसेको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको आर्थिक कार्यविधि (विधेयक) २०७४ प्रदेश सभामा पेश गरि विधायन समितिमा पठाइएको छ ।

मन्त्री परिषदले स्वीकृत गरेको आर्थिक कार्यविधि (विधेयक) ११ परिच्छेद र ६५ दफा रहेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/७५ का लागि चैत्र मसान्त भित्रै आंशिक बजेट ल्याउने तयारी स्वरुप आर्थिक कार्यविधि ऐन सभाको बैठकमा पेश गरेको हो ।

सरकारले उक्त (विधेयक)लाई फाष्ट ट्रयाकबाट प्रदेश सभाद्धारा पास गर्ने बताइएको छ । अर्थमन्त्री बोहराले आर्थिक कार्यविधि (विधेयक)लाई संसदमा पेश गरिसकेपछि प्रदेश सभा सदस्य तारा लामा तामाङले उक्त ऐनलाई फाष्ट ट्रयाकबाट पास गर्न प्रस्ताव गरेका थिए ।

प्रदेश सभा सदस्य अक्कल रावलले उक्त प्रस्तावमा समर्थन गरेका थिए । त्यसै गरि उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्य भरत बहादुर खडका, लिलाधर भट्ट, कर्ण मल्ल, पूर्णकला जोशी, तारालामा तामाङ र रण बहादुर रावलले सुझाव दिएका थिए ।

अर्थमन्त्रीले संसदमा पेश गरेको आर्थिक कार्यविधि आजै दोस्रो पटक बसेको सभा बैठकले दफावार छलफलकालागि विधायन समितिमा पठाएको छ ।

विधायन समितिमा पठाएको कार्यविधि (विधेयक)को प्रस्तावमा बहुमत सांसदले सहमति जनाएपछि सभामुख अर्जुन बहादुर थापाले सर्वसम्मति रुपले दफावार छलफलका लागि विधायन समितिमा पठाईएको घोषणा गरे ।

आर्थिक कार्यविधि (विधेयक) २०७४ ससदबाट पारित भएपछि प्रदेश सरकारलाई आर्थिक गतिविधि सञ्चालन गर्न बाटो खुल्नुका साथै चैत्र मसान्तभित्रै बजेट ल्याउने सकिने अर्थमन्त्री बोहराले बताए ।