जानकी मन्दिरमा सुदूरपश्चिमको झाँक्री

कैलाली, २० चैत सुदूरपश्चिमाञ्चल साहित्य समाजले जनकपुरको जानकी मदिन्दरमा बिभिन्न सांस्कृतिक झाँक्री कार्यक्रम गरेको छ । विहान मन्दिर प्रांगणमा सुदूरपश्चिमको सांस्कृतिक पहिचान झल्कने सखिया, छलिया, घुर्कोली, गौरा, राइझुमा लगायतका झाँक्रीहरु प्रस्तुति गरिएको हो ।

देश दर्शन अभियानअन्तर्गत प्रदेश नं. ७ बाट जनकपुर आएको सुदूरपश्चिमको टोलीलाई मिथिलाबासीले स्वागत गरेका थिए । कार्यक्रममा २ नम्बर प्रदेशका प्रदेश प्रमुख, प्रदेश प्रहरी प्रमुखलगायतको सहभागिता थियो ।


अभियानका संयोजक यज्ञराज उपाध्यायले संस्कृतिको माध्यमबाट टुटिएका मनहरुलाई जोड्ने उद्देश्यले अभियान सुरु गरिएको बताए । हिमाल, पहाड, मधेस तराई जहाँ बसे पनि संस्कृति सबैको साझा भएकाले आदानप्रदान गरिएको उनले बताए । संस्कृतिको आदानप्रदानले सम्बन्ध प्रगाढ हुने उनको विश्वास छ ।

चैत १५ गतेबाट सुरु भएको यो अभियानअन्तर्गत देशका बिभिन्न भागका साथै भारतका दार्जिलिङ, आसाम र सिक्किममा पनि कार्यक्रम गरी बैशाख १ गते समापन गर्ने उपाध्यायले जानकारी दिए ।