कृषि योग्य जमिनको तथ्यांक संकलन गरी भू–उपयोग नीति ल्याइनेः मन्त्री चौधरी

कैलाली, १९ चैत । प्रदेश नं. ७ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो अल्पकालिन बजेटमा सिँचाइ, मल र बिउ बिजनको बिक्रि वितरणलाई प्राथमिकतामा राख्ने भएको छ ।

तीन महिनाको लागि ल्याउन लागेको अल्पकालिन बजेटमा कृषिका उक्त तीन पक्षलाई प्राथामिकतामा राखेर बजेटको माग दाबी आर्थिक मामिला तथा योजना मन्त्रालय संग राखेको छ ।

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले चैत्र महिनाभित्रै आउन लागेको प्रदेशको अल्पकालिन बजेटमा कृषि अन्तरगतको सिँचाइ, मल र बिउबिजनको आपूर्तिलाई मध्यनजर गरी बजेटको माग दाबी गरेको बताइन् ।

उनले भनिन्–‘तीन महिने अल्पकालिन बजेट तथा कार्यक्रम नै हाम्रो लागि पाँच वर्षे कार्य अवधीको प्रोमो हुनेछ, ऐतिहासिक हुनेछ ।’
त्यस्तै, प्रदेश सरकारले माटो परिक्षण अभियानलाई पनि प्राथमिकताका साथ अगाडी बढाउने भएको छ । कृषि क्षेत्रीय तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरको सहकार्यमा माटो परिक्षण हुने मन्त्रालयले जनाएको छ ।

कृषि उत्पादकत्व बढाउन प्रदेशको विभिन्न जिल्लामा उत्पादन हुने कृषि उपजलाई मध्येनजर गरी पकेट क्षेत्र, एरिया, जोनमा विभाजन गरिने भएको छ । साथै कृषि योग्य जमिनको तथ्यांक संकलन गरी त्यसकै आधारमा भू–उपयोग नीति ल्याइने जनाइएको छ ।

त्यस्तै मन्त्री चौधरीले आफु मन्त्रालयको जिम्मेवारी सम्माले यता कृषिकै विषयमा सुझाव संलकन तथा कृषि विज्ञहरु राय लिएको बताइन् । आफु कुरा भन्दा काममा विश्वास गर्ने बताउँदै उनले भनिन्–‘मेरो बोलेको काम गरेरै छाड्ने बानी छ, निरक्षण र अनुगमनमा देखिएको कमी कमजोरी तत्काल सुधार होस् भन्ने मेरो प्रमुख प्रयत्न हुन्छ ।’