थारु यूवालाई मन बलियो बनाई लोकसेवाको तयारी गर्न आग्रह

कैलाली, १८ चैत । थारु कल्याणकारिणी सभा कैलालीद्धारा थारु युवाहरुको लागि लोक सेवा तयारी कक्षा शुरु गरेको ।

यहि चैत २० गतेदेखि शुरुहुने लोकसेवा आयोगको तयारी कक्षाको आज उद्घाटन भएको थियो ।

उद्घाटन समारोहमा प्रदेश प्रमुख कार्यालय उप–सचिव हिरालाल चौधरीले निजामति कर्मचारी क्षेत्रमा थारुहरुको बाहुल्यता एकदमै न्यून रहेको बताए । उनले अबको यूवा पुस्ताहरुलाई मेहनतका साथ लोक सेवा आयोगको परीक्षा दिन आग्रह समेत गरे ।

उप–सचिव चौधरीले देश संघियतामा गईसकेकोले लोक सेवा पास गरेकाहरुलाई थुप्रै अवसर रहेको बताउदै थारु यूवाहरुलाई संघर्ष गर्न आग्रह गरे ।

उनले लोक सेवाको परीक्षा दिन जनजातिहरुमा भाषागत चुनौती रहे पनि मेहनत गरे फल अवश्य पाईन्छ भन्ने तर्क दिदै परिश्रम गर्नबाट पछि नहट्न निर्देशन दिए ।

थारु यूवाहरु क्षमतावान रहेपनि मनस्थितिमा मात्रै कमजोर रहेको बताउदै गैरथारुको तुलनामा कम नरहेको बताए ।
त्यसै गरि ४२ वर्ष सम्म निजामति सेवा गरि भर्खर निबृत रहेका जगत चौधरीले आफूले गरेको संघर्षको अनुभव सुनाउदै परिश्रम नगरि मिठो फल नमिल्ने बताए ।

आफूले लोक सेवा परीक्षाको लागि ६ दिन पैदल हिडेर दिपायल गएको अनुभव सेयर गर्दै अहिलेको आधुनिक यूगमा बाटो घाटो र विभिन्न प्रकारका सुचनामूलक किताब बजारमा उपलब्ध भईसकेको बताए ।

नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहेका चौधरीले टेक्नोलोजिको जबानामा इन्टरनेटबाट पनि लोक सेवा सम्बन्धी थुप्रै जानकारी प्राप्त गर्न सकिने भएकोले लोक सेवाको तयारी सजिलो रहेको बताए ।

उनले कुनैपनि विरुवा बिना पतझर नहुदा सम्म नयाँ पालुवा नआउने र विना मेहनतको राम्रो नमिल्ने बताउदै लोक सेवा पास गर्न थारु यूवा मानसिकरुपले बलियो हुनुपर्ने बताए ।

कार्यक्रममा थारु विद्यार्थी समाजका केन्दीय उपाध्यक्ष ठाकुर करियाप्रधानले समाज परिवर्तनका लागि यूवाहरु अघि बढ्नुपर्ने जरुरी रहेको बताए ।

थारु पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष प्रेम चौधरीले निजामति कर्मचारीमा थारु समुदायको उपस्थिति न्यून रहेकोले थारु यूवाहरु अग्रसर हुन जरुरी रहेको बताए ।

थारु कल्याणकारिणी सभाका सचिब माधब चौधरीले अधिकारको आन्दोलन धेरै भईसकेकोले अब निजामति कर्मचारी तिर थारु यूवाहरुलाई अग्रसर गराउनुको विकल्प नरहेको बताए ।

थारु कल्याणकारिणी सभा कैलालीको आयोजनामा सहुलियतदरमा लोक सेवा कक्षा सञ्चालन गरेको बताउदै आर्थिक अवस्था कमजोर र अपांगता भएका व्याक्तिहरुका लागि निशुल्क पढाउने प्रतिबद्धता जाहेर गरे ।