योनिमा पाइप घोच्ने श्रीमान विरुद्ध मुद्दा

ललितपुर, १२ चैत । दैलेखको चण्डामुण्डा नगरपालिका चिमेका सूर्य बहादुर राउत र डम्बर कुमारी राउतबीच प्रायः झगडा हुन्थ्यो । सूर्य बहादुरले रक्सी खाएर डम्बर कुमारीलाई कुटपिट गर्थे ।

शुक्रबार राति पनि रक्सि खाएर घरमा आएका सूर्य बहादुर र डम्बर कुमारीबीच झगडा भयो । रिसको झोकमा सूर्य बहादुरले श्रीमती डम्बर कुमारीलाई कुटपिट गर्दै आगो फुक्ने पाइपको ढुम्रोले गुप्ताङ्गमा घोचेर गम्भीर घाइते बनाए ।

व्यापारको सिलसिलामा भैरवी गाउँपालिका–४ जडाजीउलामा बस्दै आएका सूर्य बहादुरले घरमा आउँदा आफूलाई सधैँ झगडा र कुटपिट गर्दै आएको डम्बर कुमारीले बताइन् ।

घाइते ३६ वर्षीय डम्बर कुमारीको अस्पतालमा उपचार भइरहेको छ । उनलाई शुक्रबार नै छिमेकी ललिता थापाले घरबाटै उद्धार गरी दैलेखको जिल्ला अस्पतालमा उपचारका लागि लगेको प्रहरीले बताएको छ ।

गम्भीर घाइते डम्बर कुमारीको योनिको बाहिरी सतहदेखी ४ इन्च भित्री सहतसम्म चोट लागेको उपचारमा संलग्न भएका स्त्रीरोग विशेषज्ञ डाक्टर निरञ्जन पन्तले जानकारी दिए ।

श्रीमान ४० वर्षीय सूर्य बहादुरलाई घटना भएकै दिन प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले महिला खबरलाई बताए ।

उनले श्रीमती डम्बर कुमारीलाई धेरै पहिलेदेखि शारीरिक र मानसिक यातना दिने गरेको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

आरोपीमाथि घरेलु हिंसा, यातना र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । मुद्दा सोमबार दर्ता गरिने उनले बताए । उनीहरुका दुई छोरा र दुई छोरी छन् । १८ वर्षीय जेठा छोरा काठमाडौंमा अफन्तकोमा बसेर कक्षा ११ मा पढ्दैछन् । महिला खबरबाट