एक सातादेखि मानव वस्तीमै बाघ पस्न थालेपछि…

संरक्षणकर्मी हर्षित, स्थानीय त्रस्त

धनगढी, १० चैत । एक सातायता कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रमा पाटे बाघले आतंक मच्चाउदै आएको छ ।

दिउँसोको समयमा कैलारी गाउँपालिकास्थित विभिन्न सामुदायिक वनमा बस्दै आएको उक्त पाटे बाघ रातीको समयमा स्थानीय मानव वस्तीमा पसेर बंगुर, गाईलगायत वस्तुभाउलाई आक्रमण गर्दै आएको छ । तर मानवीय क्षति भने नभएको कैलारी गाउँपालिका–५ का स्थानीय संरक्षणकर्मी रामुराम चौधरीले जानकारी दिए ।

भारतको दुधुवा नेश्नल पार्कबाट आएको उक्त पाटे बाघको घाँटीमा नेश्नल पार्कले जिपिएस (रेडियो कलर) जडान गरेको छ । जसको आधारमा नेश्नलपार्कले उक्त बाघको निगरानी गर्दै आएको छ ।

बसन्ता वन सामुदायिक वन समन्वय समितिका पूर्व सचिव समेत रहेका चौधरीले दुधुवा नेश्नल पार्कलाई उद्त गर्दै भने–‘चैत ३ गते उक्त बाघ दुधुवा नेश्नल पार्कमै देखिएको बताए । तर चैत्र ४ गते राती कैलारी गापा–३ मोहनपुरका स्थानीय मगरु चौधरीको ५० केजीको बंगुरलाई आक्रमण गरी मारेको उनले जनाए ।

उक्त बाघको आतंक त्यतिमा सीमित भएन । चैत ५ गते कैलारी गापा–३ शिवरत्नपुरका स्थानीय रामचरण चौधरीको गाईको बाछोलाई आक्रमण ग¥यो । भने ६ गते उक्त गाउँपालिका ३ उत्तर भर्री टिसिएन टोलमा फेरि अर्को गाई मारेको संरक्षणकर्मी चौधरीले बताए ।
आज (शुक्रबार) उक्त गाउँपालिकास्थित कमल पोखरी सामुदायिक वनमै रहेको दुधुवा नेश्नल पार्कले जनायो ।

स्थानीय सामुदायिक वन क्षेत्रमा जंगली जनावरको उपस्थिति बढ्नुलाई वन तथा वन्यजन्तु संरक्षणकर्मीहरुले अवसर र चुनौतीको रुपमा लिएको बताएका छन् । उनीहरुले आफुहरुको वर्षौदेखिको मेहनतको फलको रुपमा लिएका छन् । सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष तथा संरक्षणकर्मी विजयराज श्रेष्ठले भने–‘हाम्रै सामुदायिक वनमा जंगली जनावर फेला पर्नु खुशीको कुरा हो, यसले हामीमा अवसर र चुनौती दुवै थपिएको छ ।’

तर स्थानीयहरुमा पु¥याइरहेको क्षति र आंतकप्रति स्थानीयवासी स्वयम सचेत बन्नु तथा सुरक्षा सतर्कता अपनाउनु पर्ने संरक्षणकर्मी श्रेष्ठको भनाई छ । उनले वन व्यवस्थापन तथा जंगली जनावरवारे थप जनचेतना फैलाउनु पर्नेमा जोड दिए ।