गृहमन्त्री बादलले रेशम चौधरीलाई अनशन तोडाए

कैलाली, २ चैत । केलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीबाट संघीय प्रतिनिधि सभामा निर्वाचित भएका रेशम चौधरीलाई गृहमन्त्री रामबहादुर थापा (बादल)ले वीर अस्पतालमा जुस खुवाएर अनशन तोडाएका हुन्।

गृहमन्त्री थापाले उनीमाथी लागेको मुद्धाका बारेमा राजनीतिक हल खोज्ने आश्वासन दिएपछि चौधरीले अनशन तोडेका हुन्। अनशन तोड्दै चौधरीले सो घटनामा आफू निर्दोष रहेको र आफूलाई फसाउन खोजिएको बताएका थिए। उनले टिकापुर घटनाका बेलामा बर्दिया रहेको र आफ्नो कल डिटेल हेरेर अनुसन्धान गर्न माग गरेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। उनले टिकापुर घटनाको नयाँ शिराबाट अनुसन्धान गरिनुपर्ने बताएका छन्।

टिकापुर घटनाका मुख्य अभियूक्त चौधरीले जिल्ला कारगारमा १८ दिनदेखी आमरण अनशन बसेका थिए। अनशनपछि स्वास्थ्यमा समस्या आएपछि उनलाई सेती अञ्चल अस्पतालले त्यहाँ उपचार गर्न नसक्ने भन्दै काठमाडौं ‘रिफर’ गरेको थियो।

राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका चौधरी प्रतिनिधि सभामा निवार्चित छन्। टीकापुर घटनालगत्तै प्रहरी पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जनासँगै विभिन्न माग राख्दै जेलभित्रै अनशन सुरू गरेका थिए। चौधरी सहित सो प्रकरणमा जेलपरेका उनीहरूले चौधरीलाई निर्वाचितको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने भन्दै एक साताअघिदेखि हिरासतभित्रै आमरण अनशन सुरू गरेका थिए।