१० लाख कममा टेण्डर हाल्ने ठेकेदारको पक्षपोषण गर्दैछ मिडियाः कैलारी गाउँपालिका

फागुन, २ फागुन । कैलालीको कैलारी गाउँपालिकाले धनगढीको केहि मिडियाले जोर जबरजस्ती भ्रामक सामग्री हालेर कम रकममा टेण्डर हाल्ने ठेकेदारको पक्षपोषण गरिरहेको बताएको छ ।

सार्वजनिक खरिद ऐन बमोजिम टेण्डर प्रक्रिया अगाडी बढेको तथा अझैपनि टेण्डर स्वीकृत नभएपनि टेण्डर स्वीकृत भयो भनी भ्रामक समाचार सम्प्रेषण गरेको गाउँपालिका कार्यालयले मुक्तिक डगर डटकमलाई बताएको हो ।

कार्यालयका अनुसार माघ २२ गते गाउँपालिका अन्तरगत १५ वटा ताल तलैयाहरुको ठेक्का दिने सूचना प्रकाशित भएको थियो । सूचना अनुसार पर्न आएका सिलबन्दी बोलपत्र खोलिएको र फागुन  २९ गते मूल्यांकन समितिले विभिन्न चरणको बैठक बसी सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियावली २०६४ को अधिनमा रही ठेक्का स्वीकृत गर्ने सम्बन्धी निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत धर्मानन्द भट्टले जानकारी दिए ।

उनले उक्त निर्णय सूचनाको रुपमा प्रकाशित गरेको र प्रकाशित उक्त सूचनामा चित्त नबुझ्ने सम्बन्धित व्यक्तिले कानूनी म्यादभित्र उजुर दाबी गर्न पाउने व्यवस्था भएपनि हालसम्म कसैको दावी उजुर नपरेको बताए । यदि दाबी उजुर परेमा छुट्टै समितिले निर्णय गर्ने र दाबी उजुर नभएमा पूर्व सूचना अनुसार ठेक्का लिने दिने बीचमा समझौता हुने प्रमुख प्रशासकीय अधिकृत भट्टले जनाए । त्यस्तै, उनले हालसम्म समितिमा कुनै पक्षबाट उजुरी समेत नपरेको साथै कमल पोखरी तालको ठेक्का टेण्डर हाल्ने मनोज महतो र गाउँपालिकाबीचमा ठेक्का समझौता नभएको स्पष्ट पारे ।

प्रमुख प्रशाकीय अधिकृत भट्टले शिलबन्द बोल कबोल टेण्डर खोल्ने र टेण्डर स्वीकृत गर्ने सम्बन्धलाई लिएर धनगढीस्थित दिनेश एफएम र त्यसको अनलाइन संस्करण दिनेश खबर डटकममा गाउँपालिकाका अध्यक्षले कमिसन खान खोजेको तथा सार्वजनिक खरिद ऐन बिपरित धरौती रकम नपुगेको टेण्डर स्वीकृत गरेको भन्ने समाचारमा कुनै सत्यतता नरहेको समेत ठोकुवा गरे ।

उनका अनुसार सार्वजनिक खरिद नियमावलीको ५३ मा बोलपत्र जमानत बाफतको दायरा दुईदेखि तीन प्रतिशत भित्र रही तोक्नुपर्ने व्यवस्था भएको र कार्यसम्पादन बाफत सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (४) बमोजिम पाँच प्रतिशत कार्यसम्पादन लिई समझौता गर्न सकिने व्यवस्था अनुसार मूल्यांकन गरेको प्रमुख भट्टको भनाई छ ।

त्यस्तै गाउँपालिका अध्यक्ष चौधरीले विना तथ्य र प्रमाण विना नगरविकास समितिको अध्यक्ष हुँदा र हाल टेण्डर प्रक्रियामा ठूलो रकम कमिसन खाएर आफु निकट व्यक्तिलाई टेण्डर स्वीकृत गरेको भन्दै समाचार सम्प्रेषण गरी दिनेश एफएमले आफ्नो चरित्र हत्या गर्नुको साथै जनमानसमा भ्रम सिर्जना गरेर पित्त पत्रकारिता गरिरहेको आरोप लगाए ।

‘गाउँपालिकाले ऐनलाई टेकेर १० लाख बढी रकममा टेण्डर हाल्ने व्यक्तिको पक्षमा प्रराम्भिक निर्णय गरेको छ, तर अझै फाइनल भएको छैन । जुन निर्णयले गाउँपालिकालाई १० लाख फाइदा हुने देखिन्छ‘, अध्यक्ष चौधरीले भने–‘गाउँपालिकाले कम रकममा टेण्डर हाल्ने व्यक्तिको पक्षमा निर्णय गरेको भए मैले कमिसन खाएको आरोप लाग्नु स्वाभाविक थियो । तर यहाँ बढी हाल्ने व्यक्तिको पक्षमा प्रराम्भिक निर्णय भएको छ । अझै अन्तिम निर्णय आउन बाँकी नै छ ।’

साथै उनले आफ्नो निर्देशनमा नभई ऐन बमोजिम बनेको मूल्यांकन समितिको आमन्त्रित सदस्य मात्रै रहेको र सबै निर्णय प्रक्रिया ऐन मुताविक नै भएको उनको दाबी छ ।