बोक्सी प्रथाविरुद्धको अभियानमा सहभागी भइन् राधा

कैलाली, २ चैत । बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका ५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् ।

स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् ।


सोही अवसरमा उनलाई सामूहिक अभिनन्दन समेत गरिएको छ । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बाल्दै राधाले आफू निर्दोश भएको बताइन् । ‘म निर्दोश मान्छेलाई कुटपिट गरेर मलाई अपहेलना गर्नु भयो’, उनले भनिन्, ‘मलाई गरिएको यो अभिनन्दनले उहाँहरुको पनि आँखा खुलोस् ।’
त्यस घटनाको बारेमा स्मरण गर्दा उनी ब्यासमै रोएकी थिइन् ।

अभियानका संयोजक गोविन्दशरण उपाध्यायका अनुसार सोही अवसरमा बोक्सीप्रथाविरुद्धको सामाजिक चलचित्र ‘अग्नीदह’ पनि प्रदर्शन गरिएको थियो ।

त्यसै गरि घोडाघोडी नगरपालिकासंग जोडिएर रहेको गौरीगंगा नगरपालिकामा पनि सोही अभियान शुरु भईरहेको ओरेक नेपालकी कार्यक्रम संयोजक सरिताले जानकारी दिईन् ।

उनले नगरपालिकाका न्यायिक समितिले कैलालीमा क्रियाशील संस्थासंग समन्वयन गरि अभियान थालेको बताईन् । फाया नेपालले फागुन ३० र चैत १ गतेका दिन वडा नं. ८ र ७ मा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । त्यसै गरि ओरेक नेपालले २९ र १ गते वडा नं. ५ र ११ मा र दलित महिला अधिकार मञ्च नेपालले चैत २ गते वडा नं. १ र ४ मा कार्यक्रम सञ्चालन गरेको चौधरीले जानकारी दिईन् ।