बोक्सी प्रकरणः एक कलले सन्ध्या र सुरेशको ‘हनिमुन क्यान्सिल’ !

धनगढी, २ चैत । कञ्चनपुरको बैलौरी नगरपालिका–७ पौलाहाका सुरेश कुश्मी र धनगढीकी सन्ध्या योगी फागुन ६ गते वैवाहिक बन्धनमा बाँधिए । करिब तीन वर्षसम्म चलेको मायाप्रिति पश्चात यो जोडी एक सुत्रमा बाँधिए ।

शिक्षण पेशा गर्दै आएका सुरेश र मोडलिङमा जमेकी सन्ध्याले व्यस्त जीवनशैलीलाई केहि समयका लागि बिट मारेर भारतको सुप्रसिद्ध पर्यटकीय क्षेत्र गोवामा यहि चैत्र पहिलो साता ‘हनिमुन टुर’ गर्ने योजना बुनेका थिए । तर उनीहरुको त्यो योजनाको तयारी एउटै फोन कलले क्षणभरमै भताभुङ्ग भयो । कारण थियो, फागुन २४ गते घोडाघोडी नगरपालिका–५ देउकलियामा घटेको मानवता विरुद्धको जघन्य, वर्वरता प्रस्तुत गरेको बोक्सी आरोपमा कुटपिट काण्ड ।

बोक्सी आरोपमा निर्घाट कुटिएकी राधा चौधरीकी आमा फूलकेशरी चौधरी सन्ध्या योगीको सानीआमा नाता पर्छिन् । नारी दिवसकै दिन त्यो घटनावारे आफन्तबाट जानकारी पाउँदा उनको दिमाग ठेगानमा रहेन । डेढ बजेतिर जानकारी पाएका उनीहरु ९सन्ध्या र सरेश० साढे दुई बजे ईलाका प्रहरी कार्यालय सुखड पुगे ।

ईलाका प्रहरी कार्यालयमा खेपेको पीडा सुनाउँदै उनले भनिन्–‘प्रहरी कार्यालयमा जम्मा भएको ठूलो भिडले आफूहरुलाई बोक्सीको आफन्त भनेर औलो तेर्साइरहेका थिए । छिछि, दुरदुर गरिरहेका थिए । मेयर, वडा अध्यक्ष त्यहै थिए । प्रहरीले नै गाउँकै स्थानीय तथा पीडक रामबहादुर चौधरी (तान्त्रिक) लाई ‘बाबा’ भनेर ढोग गरिरहेका थिए । हामीले न्याय पाउने वातावरण नै थिएन । न्यायको लागि लेखिएको निवेदनको कामै भएन । दवावमा औषधोपचार गरी दिने भनी मिलापत्रको कोशिस गरियो । रामबहादुर छोडिए ।’

आफूहरु प्रहरी, जनप्रतिनिधि र समाजबाट उपेक्षित भएपछि एउटै विकल्प राधाको ज्यान जोगाउने मात्रै रहेको उनले बताइन् । लगत्तै घोडाघोडी अस्पतालमा उपचारको लागि पु¥याएको बताउँदै उनले अस्पतालमा समेत धेरै बाधा अड्चनको सामना गर्नु परेको बताइन् ।

‘जब हामी फागुन २४ गते न्यायको लागि तड्पिरहेको बेला, कसैले हामीप्रति सहानुभुति देखाएन । फागुन २५ गते दिउँसोसम्म यो क्रम जारी थियो । यहाँसम्मकी अस्पतालले पनि डिस्चार्ज गरी माग्दा आनीकानी गरिरहेको थियो । बल्लतल्ल डिस्चार्ज पाएपछि केहि सञ्चारकर्मी र इन्सेक, मानवअधिकार आयोगलगायत केहि संघ संस्थाको सहकार्यमा सेती अञ्चल अस्पतालमा बहिनीलाई भर्ना गरायौं ।

‘प्रश्नै प्रश्नले मर्छ जस्तो लाग्थ्यो’

घटनावारे सञ्चारमाध्यममा आएको समाचार र सामाजिक सञ्जालमा भाइरल बनेको कुटपिट गरेको भिडियोले गर्दा घटना राष्ट्रियकरण भयो । सबैको ध्यानाकर्षण गरायो । सडकदेखि सदनसम्म त्यहि घटनाले प्राथमिकता पायो । फागुन २५ गते साँझदेखि राधाको अन्तरवार्ता लिने र फोटो खिच्ने पत्रकारदेखि विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुको प्रतिनिधि, मन्त्री, सांसदहरुको टोलीले भिडभाड भयो, अञ्चल अस्पताल । सबैले घटनाप्रति खेद व्यक्त गर्दै पीडितप्रति सहानुभुती प्रकट गरे । आफ्नो बाटो लागे ।

जुन भीडको प्रत्यक्ष असर राधालाई प¥र्यो । ‘दुई दिनको अवधीमा हजारौंले भेटे । उस्ताउस्तै प्रश्न तेर्साए राधालाई, घटना कसरी घट्यो रु र के–के भयो रु भनेर’, कुरुवा बस्दाको अवस्थावारे सन्ध्याले विस्तार गरिन्–‘विरामी मान्छे २४ औं घण्टा अन्तरवार्ता दिनमै ठिक्क थियो । लाग्थ्यो, प्रश्नै प्रश्नले ज्यान जान्छ । प्रशासनलाई गुहार्दा समेत भिड नियन्त्रण भएन । बहिनीको स्वास्थ्य अवस्था अझै सामान्य भैसकेको थिएन, त्यही भएर अस्पतालले डिस्चार्ज गर्नमा आनाकानी गरिरहेको थियो । तर भिडकै कारणले पनि हामीलाई शान्त वातावरण चाहिएको थियो, र डिस्चार्ज लिई ओरेक नेपालको सेभ हाउसमा पु(यार्यौ ।’

राधासहित आमा फूलकेशरी चौधरी, बहिनी लक्ष्मी चौधरीमा उक्त घटनाकै कारण मानसिक समस्या देखिएको भन्दै उपचारपछि सेभ हाउसमा राखेको ओरक कैलालीकी जिल्ला संयोजक बिनु रानाले बताइन् । स्वास्थ्य अवस्था सामान्य भएपछि हाल राधाकी आमा गाउँ फर्केकी छिन् ।

आश्वासन दिए, गए

घटनापछि प्रदेश नं। ७ को प्रदेश सभा वैठक राधामय भयो । दोषिलाई कडा कारवाही संगै उनको उपचारदेखि क्षतिपूर्तिसम्मको आवाज उठ्यो । यतिमा मात्रै सीमित भएन, यहाँका मुख्यमन्त्री त्रिलोचन भट्ट, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, उद्योगमन्त्री माया भट्टलगायत मन्त्री सांसदहरुले थुप्रै आश्वासन र प्रतिवद्धता जनाए । ति आश्वासन र प्रतिवद्धता त्यतिकै सेलाएरै जाने त होइन् भन्ने अशंका पीडित परिवारलाई परेको छ ।
राधाकी आमा फूलकेश्वरीले भनिन्–‘सबैले भने, हामीहरु तपाईहरुको साथमा छौ, सबै किसिमको सहयोग गर्ने बाचा दिएर गएका छन्, हेरौं के हुन्छ, हामीमा समाजले दाग त लगायो, त्यो दाग मेटिन्छ कि नाई थाहा छैन ।’

लोकप्रियताको लागि होइन

थारु, नेपाली र भोजपुरी भाषाको आधा दर्जन भन्दी वढी चलचित्रमा अभिनय गरी सकेकी सन्ध्यालाई बहिनी राधालाई सहयोग गरेकै कारण लोकप्रियताको लागि सहयोग गरेको भन्दै आरोप समेत लाग्न थालेको छ ।
तर उनले उक्त आरोपलाई ठाडै अस्वीकार गर्दै आएकी छिन् । ‘मेरो सानीआमाकी छोरी हो, म एउटी सचेत नारी हुँ, नारीको व्यथा नारीलाई नै बढी थाहा हुन्छ, मानवताको हिसावले पनि राधाको ठाउँमा अरु कोहि भएको भए म सहयोग गर्थे, मलाई लोकप्रिय हुनु छैन । लोकप्रियताको लागि मेरो पेशा नै काँफी छ ।’ उनी मोडलिङ संगैं डे«स डिजाइन र फिल्म मेकअपको काम गर्दै आएकी छिन् ।

हाल उक्त घटनाका मुख्य आरोप रामबहादुर चौधरी र उनको सहयोग पार्वती उर्फ स्मारिका चौधरी र किस्मती चौधरीलाई प्रहरीले नियन्त्रण्मा लिई अन्सन्धान थालेको छ । उनीहरु विरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा चलाइएको छ । लोकान्तरबाट