अनसनबारे छलफलका लागि थारु अगुवा र मानव अधिकार आयोग विच भेटवार्ता
रेशम चौधरीसँगै अनशन बसेका दुई थारु नेता अस्पताल भर्ना
कैलाली २३ फागुन । कैलाली कारागारबाटै यहि फागुन २० गते साँझादेखि आमरण अनशनमा बसेका थुनुवाहरुको स्वास्थ्य अवस्था विग्रिदै गएपछि थारु अगुवा र राष्ट्रिय मानव अधिकार आयोग विच आज भेटवार्ता भएको छ ।
अनसनमा रहेका २४ जना मध्ये लक्ष्मण थारुको पेट र छातीमा समस्या देखिएको अस्पतालका फिजिसियन डाक्टर रुपेशकान्त मिश्रले बताएका छन् । उनले आवश्यक जाँच भइरहेकोले केही समयपछि रिपोर्ट आउने जानकारी दिए । र अर्का थुनुवा किसन चौधरीको प्रेसर बढेको जनाइएको छ ।
अनशनमा रहेका थारु नेता लक्ष्मण थारु र किसन चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल पुर्याइएको हो । त्यसै गरि रेशम चौधरीको पनि स्वास्थ्य स्थिति कमजोर बन्दै गएको छ ।

फागुन २० गतेदेखि तीन बुँदे माग राख्दै आमरण अनशनमा रहेका उनीहरू सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्रसहित शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरुलाई रिहाई गरिनुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । तर सरकारले हालसम्म उनीहरूको बारेमा बोलेको छैन ।
त्यसै गरि अनसनमा रहेका थुनुवाहरुको स्वास्थ्य अवस्था विग्रिदै गएकोले आयोगका मान्य सदस्य तथा सर्वोच्च अदालतका पूर्व न्यायधिश प्रकाश वस्तीले उनीहरुको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
उनले अनसनमा रहेका थुनुवाहरुको प्राण रक्षाको लागि गृहमन्त्री र प्रधानमन्त्रीसंग आयोग तत्कालिन बैठक बस्ने बताए । उनीहरुले लामो समयसम्म यसरी भोक भोकै अनसन बस्दा स्वाथ्य अवस्था झनै विग्रन सक्ने मान्य सदस्य वस्तीले बताए ।

चार दिन देखि आमरण अनसनमा रहेका थुनुवाहरुको माग राज्यले सुनुवाई नगरेको र उनीहरुको स्वास्थ्य अवस्था बिग्रिदै गैरहेकोले बुधबार बसेको छलफलमा थारु अगुवा माधव थारुले आयोगलाई समस्या समाधानकोलागि आग्रह गरेका थिए ।
यसैबीच रिपोर्टिङ गर्न अस्पताल पुगेका सञ्चारकर्मीहरुलाई फोटो खिच्नमा कडाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको आदेशपछि मात्रै प्रहरीले फोटो खिच्न दिएका थिए ।













