टिकापुर घटनाका २४ राजबन्दीको अनसन जारी, सुनुवाई नभए सद्‍भाव खलबलिने चेतावनी

कैलाली, २२ फागुन ।  टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीसहित २४ जना थुनुवाहरुको अनसन जारी छ । उनीहरुले आइतबारदेखि कैलाली कारागारमै आमरण अनशन सुरु गरेका थिए ।

अाफूहरुकाे अनसनमाबारे राज्यले कुनै सुनुवाइ नगरेको उनीहरुको गुनासो छ । अहिलेसम्म कुनै पनि निकायले अाफूहरुको अनसनबारे जानकारी समेत नलिएको रेशम चौधरीले जानकारी दिए । ”अनसन बसेको तीन दिन वितिसक्दा समेत कैलाली जिल्लाको कुनै पनि निकाय कारागारसम्म आएको छैन । यहाँका सिडिओ, डिएसपीले कारागारसम्म आएर अनुगन गरिदिए आफ्नो माग राख्थ्यो तर कोही आएका छैनन्” अनसन स्थलबाटै चौधरीले भने ।

मुक्तिक डगरसँगको कुराकानीमा चौधरीले भने, ”राज्यको रवैया कारागार भित्रैबाट हेरिरहेका छौं, सवाल रेशमको मात्र होईन । म त केवल चेसको गोट्टी हुँ । सवाल त समग्र थारु समुदायको हो ।” अाफूहरु कारागार भित्रबाटै आन्दोलनको शुरुवात गरिसकेका भन्दै बाहिरको शक्तिपनि तयारी अवस्थामा रहेको बताउँदै चौधरीले राज्यको थारु विरोधी रवैया धेरै दिन नटिक्ने चेतावनी समेत दिए ।

कारागारमै कैदी जीवन विताईरहेका अर्का बन्दी लक्ष्मण थारुले ७२ घण्टा आमरण अनसन बस्दा पनि राज्यले सुनुवाइ नगर्नु भनेको थारु विरोधी भएको पुष्टी भएको बताए । उनले भने, ”राज्यको रवैया थारु विरोधी छ भन्ने कुरा प्रष्टै देखियो । हामी मर्न तयार छौं तर अनसन तोड्दैनौं ।”

राज्यले अाफूहरुका मागप्रति मौन रहेको बताउँदै थारुले भने, ”थारुको मुद्धाप्रति यसैगरी बेवास्ता गरे सद्‍भाव खल्बलिन कुनै समय लाग्दैन ।” सांसद रेशम चौधरीलाई विजयीको प्रमाणपत्र दिनुपर्ने, शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, टीकापुर घटनामा आरोपित २६ जनालाई तत्काल क्षतिपूर्तिसहित रिहाई गरिनुपर्ने र थरुहटका माग सम्बोधन गरिनुपर्ने माग राख्दै कारागारभित्रै टिकापुर घटनाका बन्दीले आमरण अनसन सुरु गरेका हुन् ।