रेशम चौधरीले लिन पाएनन् सांसदको सपथ, संसदको विरोधमा टीकापुर राजबन्दीबाट आमरण अन्सन
कैलाली, २० फागुन । आज (आइतवार) प्रतिनिधिसभा (संघीय संसद)को पहिलो बैठक बस्यो । बैठकमा प्रतिनिधिसभा सदस्य (सांसदहरुले) सपथ लिए । संघीय संसदमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित गरी २७५ जना सांसद छन् ।
आइतवार सांसदको रुपमा सपथ लिन सबै सांसदहरु उपस्थित भएपनि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी भने त्यसबाट बञ्चित भए ।
टीकापुर घटनामा संलग्न रहेको अभियोगमा अहिले उनी पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा छन् । थुनामा भएका कारण उनले सपथ ग्रहण समारोहमा सहभागी हुन पाएनन् ।
व्यवस्थापिका संसद सचिवालयले रेशम चौधरी उपस्थित भए सपथ लिन सक्ने जनाए पनि चौधरीले भने निर्वाचन आयोगबाट सांसदमा निर्वाचित भएको प्रमाणपत्र समेत बुझ्न पाएका छैनन् ।
उता टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जना थुनुवाहरु कैलाली कारागारमा आमरण अनशन सुरु गरेका छन् ।
उनीहरुले आजै साँझ पाँच बजेदेखि अनशन सुरु गरेको थारु अगुवा तथा माधब थारुवान थरुहट संघर्ष समितिका प्रवक्ता चौधरीले जानकारी दिए । उनले थारु कल्याणकारीणि सभा कैलाली र थारुवान थरुहट संघर्ष समितिले पनि सो अन्सनप्रति एकबद्धता जनाएको बताए ।
उनले अजै बसेको बैठकले यहि २६ गते बृहट मोर्चा गठन गर्न कैलाली कञ्चनपुरको भेला गर्ने निर्णय समेत गरेको बताए ।

आमरण अन्सनमा ३ बुँदे माग रहेको छ । (१) सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिनुपर्ने र शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने । (२) टीकापुर घटनामा आरोपित २६ जनालाई तत्काल क्षतिपूर्तिसहित रिहाई गरिनुपर्ने । (३) थरुहटका माग सम्बोधन गरिनुपर्ने ।
त्यसै गरि रेशम चौधरीलाई तत्कालै सांसदको शपथ लिने व्यवस्था नमिलाइए राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश नम्बर ७ को संसद बैठक चल्न नदिने चेतावनी दिइएको छ ।
(राजपा) प्रदेश सांसद कृष्ण चौधरीले प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई शपथ ग्रहण नगराए फागुन २२ हुने प्रदेश नं. ७ को संसद चल्न नदिने चेतावनी दिएका छन् ।
आज बसेको संसद बैठकमा बिशेष समय मागेर बोल्दै उनले कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले निर्वाचित सांसद चौधरीलाई प्रमाणपत्र र शपथ ग्रहण गराउने वातावरण मिलाउन अनुरोध गरे । थारु समुदायलाई राज्यले विभेद कायमै राखेको आरोप लगाउँदै उनले शपथ ग्रहणको वातावरण नमिलाए आगामी प्रदेश संसद अवरुद्ध गर्ने उनको चेतावनी थियो ।













