प्रदेश नं. ७ मा पहिलो पटक तालिम प्राप्त कुकुर
कैलाली, १७ फागुन । प्रदेश सातमा हुने ठूला आपराधिक गतिविधिको सुक्ष्म अनुसन्धानका लागि अहिलेसम्म नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याइदैं आएको थियो । तर, अब भने त्यो समस्याको समाधान भएको छ । प्रदेश सातका प्रहरी अतिरिक्त महानिरिक्षक माधवप्रसाद नेपालले संघिय प्रहरी इकाई कार्यालयको परिसरमा निर्मित कुकुर शाखाको उद्घाटन गर्दै उक्त समस्या समाधान भएकोे घोषणा गरे ।
सुरक्षा चुनौती बढेसंगै यो प्रदेशमा पनि कुकुर शाखाको आवश्यकता खड्कीएको थियो । प्रदेश सरकारका पदाधीकारीको सुरक्षा व्यवस्था बढाउन तथा सीमानाकामा हुने लागू औषध कारोबार, बिस्फोट पदार्थ ओसारपसार एवम् विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले कुकुर शाखाको स्थापना गरिएको उनले बताए ।
प्रदेश सात मा हुने अन्य घटनाको अनुसन्धानका लागि पनि विभिन्न विधाका तालिम प्राप्त कुकुरको भरपुर प्रयोग हुने प्रहरी अतिरिक्त महानिरिक्षक माधवप्रसाद नेपाल जानकारी दिए ।
सात नम्बर प्रदेशमा पनि तालिम प्राप्त कुकुरको सुविधा हुने भएपछि अपराध अनुसन्धान गर्न सजिलो हुने सुरक्षा अधिकारीले अपेक्षा राखेका छन् । यस क्षेत्रमा कुकुर शाखाको स्थापना नहँदा ठूला आपराधिक क्रियाकलापको सुक्ष्म अनुसन्धान गर्न समस्या हुदै आएपनि अब सहज हुने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
शान्ती सुरक्षा लाई थप प्रभावकारी बनाउन तालिम प्राप्त कुकुरको महत्वपूर्ण भूमिका हुने गर्दछ । यसका साथै सरकारले धनगढीलाई प्रदेश ७ को अस्थायी राजधानी तोकेसगै सुरक्षा चुनौती पनि बढेको थियो । अव भने सुरक्षा व्यवस्थापनमा पनि सहजता हुने धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बताए । उनले कुकुर शाखालाई अझैं व्यवस्थित गर्न सधैं सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
बिहिबार उद्घाटन गरिएको कुकुर शाखा भवन निर्माण गर्न ५९ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । यो भवनमा कुकुर वासस्थान, कार्यालय, स्टोर र एक शौचालय गरि जम्मा ६ वटा कोठा रहेका छन् । मानिसभन्दा कुकुरमा ५० गुणा बढि सुग्ने र चार गुणा बढि आवाज सुन्न सक्ने क्षमता हुन्छ । यस्तैं, मानिसभन्दा कुकुरमा ६ गुणा बढि दृश्यावलोकन गर्ने शक्ति समेत हुने गरेको विभिन्न बैज्ञानिक अध्ययनले पुष्टि गरेको छ । त्यसकारण पनि कुकुरलाई अपराध अनुसन्धानमा प्रयोग गरेको पाइन्छ ।













