पहाडमा होली शुरु, थारु समुदायको भोलिदेखि

कैलाली, १७ फागुन । पहाडमा आजदेखि होली पर्व शुरु भएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व आज हिमाली एवम् पहाडी जिल्लामा मनाइँदैछ ।

रङहरुको पर्व भनेर चिनिएको होलीलाई आपसी मेलमिलाप र सद्‍भावको लागि खुशी साटेर मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आउन यो पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

किंदन्तीअनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन सकेको थिएन । तिनै होलीका मारिएको खुशीयालीमा होली खेल्ने परम्परा चलेको संस्कृतिविद्हरु बताउँछन् । आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

तराई क्षेत्रमा अर्थात थारु समुदायले भने पहाडको भन्दा एक दिन ढिलो भोलिखेखि मनाउने चलन छ । थारु समुदायले आज साँझा होलिकाको सम्झनामा खुशियाली मनाउदै चामलको प्रसाद बाड्ने र परालको आगो सल्काएर (चिर दुंगे) चलन छ । भोली गाउँ भरिका किसानहरु (चिर बुटाउने) आगो निभाउने गर्दछन् त्यहाबाट होली शुरु हुन्छ ।