उखु खेतिबाट करोडौ आम्दानी
कैलाली, १५ फागुन । ‘मेहनत गरे के हुदैन’ भन्ने उखानलाई सावित गरेका छन् भजनी नगरपालिका ७ का किसान सुरज चौधरी । उनी ऊखु खेतिले २४ जना परिवारलाई आर्थिकरुपले सन्तुष्ट बनाएका छन् ।
चौधरी नगरपालिका क्षेत्र भित्र रहेको ७ विघा जमिनमा ऊखु खेति गरेर किसानको नजरमा उदाहरण बन्न सफल भएका छन् । उनी भन्छन् ‘ऊखु खेतिमा थोरै मेहनतबाट राम्रो आम्दानी हुन्छ ।’

भजनी नगरपालिका क्षेत्र भित्रका धेरै जमिन वर्षातको समयमा दुवानमा परेको हुन्छ । जसको कारण किसानहरु वर्षे बालीबाट बन्चित हुने गरेको बताउछन् चौधरी ।
उनी ऊखु खेतिबाट एकै पटक वर्षे बाली र हिउदे बालीको फाईदा लिईरहेको बताए । अरु खेति जस्तै ऊखु खेतिमा लगानी र मेहनत कम लाग्ने गरेको चौधरीको भनाई छ । ‘पुरै परिवार वर्षमा एक पटक मेहनत गर्छै, अहिले उखुबाट भेली मिठाई बनाएर बेचिरहेका छौं । दिनमा ६÷७ कुन्तल मिठाई बिक्री हुन्छ ।’
चौधरीले थोकमा प्रति केजी ७५ रुपैयाको दर मिठाई बिक्री गरेको जानकारी दिदै दिनमा ५२ हजार ५ सय रुपैया आउने गरेको बताए ।
उनले एक विद्यामा उत्पादन गरेको उखुबाट ४ सय कुन्तल मिठाई बन्ने गरेको जानकारी दिदै ७ विघामा २८ सय कुन्तल मिठाई बन्ने गरेको बताउदै एक वर्षमा २ करोड १० लाख रुपैया बराबरको मिठाई बेच्ने गरेको बताए ।
उनले मिठाई बनाउने कामदार सबै घरपरिवारका सदस्य मिलेर काम गरेको कारण प्रविधिक खर्च बाहेक अरु खर्च नलाग्ने गरेको जानकारी दिए ।
चौधरीले २ विघाबाट शुरुवाट गरेको उखु खेतिबाट फाईदा हुन थालेपछि हाल ७ विघा पुरयाएका छन् । धान खेतिकोलागि ९ विघा जमिन ठेक्कामा लिएर उत्पादन गरेको धान घर खर्च चलाउने गरेको बताए ।
उनले यस क्षेत्रका किसानलाई उखु खेतिप्रति आक्रशित बनाउन नगरपालिकाले किसानहरुलाई अनुदान स्वरुप समयमै खाद्य मल र बिउको व्यवस्था गरिदिने माग समेत गरे । उनले भजनी बजारका आफूले उत्पादन गरेको मिठाई अपुग हुने गरेको बताउदै उखु खेतिको लागि हाल सम्म बजार खोज्न नपरेको बताए ।













