कठरिया सामुदायमा होली (तस्बिर सहित)
कैलाली, १५ फागुन । जनजाती थारु अन्तर्गत पर्ने कठरिया सामुदायको होली पर्ब सुरु भई सकेको छ ।
थारु कठरिया सामुदायको होली पर्ब सबै भन्दा ठुलो पर्ब हो । यो होली पर्ब कठरिया समुदायमा होली आउनु भन्दा एक हप्ता अगाडीदेखि नै होली नाँच नाचेर मनाउने गर्दछन् ।

होलीमा बिशेष कठरिया समुदायका युवा युवतीहरुले पराम्परागत साँस्कृतिक पहिरन लगाएर होली नाचबाट पर्व मनाउने गर्दछन् ।
उनीहरु कम्मरमा ठुलो ढोल बाजा बजाएर होली खेल्दै गाँउघरमा, समुदाय, छरछिमेक तथा आफ्ना आफन्त संग रमाइलो गर्ने चलन छ ।
होलीमा नाँच्ने र आफ्ना सँस्कतिक पहिचानको संरक्षण सम्बद्र्धन गर्ने उद्धेश्यले हरेक बर्षको होलीमा होली नाँचगाँन गरि आफ्ना देवीदेवताको पुजा गर्ने गर्दछन् ।

होलीमा सानो सिमलको रुख प्रत्येक बर्ष गाँउको पुजा गर्ने ठाँउ (मरुवामा) मा रोप्ने, र त्यसमा पुजा गरेर होली पर्ब मनाउने यो समुदायको चलन रहेको छ ।
सिमलको रुखमा गाँउमा रहेका तथा घरपरिवारमा रहेका भुतप्रेतलाई बाँध्ने र देवी देवतालाई मनाउने धार्मिक आस्थाले होलीमा सिमलको रुखमा खरानी भएको गोबरको गुइठा र साथमा होलीको दिन पकाएका रोटी चढाएर पुजा गर्ने चलन हाल सम्म कायमै छ ।
होलीको ८ औँ दिनमा पानी होली (खखरेहरा होली) खेली होलीलाई बिदाइ गर्ने चलन कठरिया समुदायमा छ । त्यसैले अन्य समुदायको तुलनामा थारु जनजातीमा पर्ने कठरिया समुदायको होली पर्ब एकदमै ठुलो बिशेष पर्बको रुपमा बुझ्न सकिन्छ ।













