बन्दको प्रभाव देशभर, रोकिएन बम विस्फोट आगजनी र तोडफोड
धनगढी, ८ फागुन । बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीहरुले मालबहाक ट्रक तोडफोड गरेका छन् । कैलालीको लम्कीस्थित धोपिनी खोला नजिकै ना ३ ख ६३२५ नम्बरको ट्रक तोडफोड भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको एक दिने नेपाल बन्दले कैलालीका सम्पूर्ण क्षेत्र प्रभावित भएका छन् । बजार, कलकारखाना, यातायात, शैक्षिक संस्था प्रभावित भएका छन् ।
बन्दले कैलाली जिल्लामा छोटो तथा लामो दुरीका यातायातका साधनहरु नचलेको जिल्ला सेक्रेटरी गणेश ढकालले जानकारी दिए ।
त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको प्रत्यक्ष प्रभाव देशभर परेको छ । र, बम विस्फोट र आगजनीका क्रम पनि रोकिएका छैनन् ।
पार्टी काममा खटिरहेका बेला आफ्नो वरिष्ठ नेता र कार्यकर्तालाई प्रहरीले बिनाकारण गिरफ्तार गरी हिरासतमा राखेको विरोधमा नेपाल बन्दको घोषणा गरेको हो ।
पश्चिमका धनगढी, कञ्चनपुर, दाङको तुल्सिपुर, सुर्खेतको वीरेन्द्रनगर, घोराही, नेपालगञ्ज, बर्दियाको गुलरिया, पोखरा, बाग्लुङ, गोरखा, पूर्वका चितवन, हेटौंडा, चपुर, गौर, लालबन्दी,गाइघाट, इटहरी, धरान, दमक, विराटनगर, मेचीनगर, काँकडाभिट्टालगायत देशका मुख्य बजारसमेत पूर्ण रुपमा प्रभाव परेको हाम्रा प्रतिनिधिहरुले जनाएका छन् । अन्य पहाडी क्षेत्र जोड्ने र तराइका लामा–छोटा दूरीका सबै सडक ठप्प रहेको जनाएका छन् ।
ठाउँठाउँमा आगजनी र तोडफोड
त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै विभिन्न स्थानमा सवारी साधनमाथि आगजनी र तोडफोड भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित बा १ झ ८१३८ नम्बरको एक सरकारी गाडीमा आगजनी गरेका छ । आगजनीबाट पार्किङ गरिराखेको टाटासुमोमा ध्वस्त भएको जनाइएको छ । त्यस्तै मंगलबार बिहानै विराटनगरको सलकपुर र ढाडमा दुईवटा मालवाहक ट्रकलाई आगजनी गरेर ध्वस्त पारिदिएका छन् ।
नवलपरासीको नवलपुरमा बन्द अटेर गरी चलाइएको ३ वटा गाडीमाथि तोडफोड गरेको समाचार छ । काठमाडौंमै बन्दमा चलाएका एकएक वटा ट्याक्सी र माइक्रोबसलाई तोडफोड गरेर चेतवानीसहित फिर्ता पठाइएको नेकपाले जनाएको छ । आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भर्खरै प्राप्त समाचार अनुसार कैलालीको लम्की धोपिनी खोलास्थित बन्दको अवज्ञा गरेको बन्दै ना ३ ख २५६३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेको छ । आगजनीबाट ट्रकमा क्षति पुगेको जनाएको छ ।
त्यस्तै, पोखराको नागढुंगा बजारमा एउटा झोलामा राखिएको बम निस्क्रिय पार्न डिस्पोजल टोली आइपुगेको जनाइएको छ ।
बम विष्फोट र फेला

त्यस्तै बन्दको सिलसिलामा बम विस्फोट र फेला पर्ने क्रम रोकिएको छैन । कास्कीको विजयपुरमा बम विस्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री सख्त घाइत भएका छन् । आजै बिहान झापाको दमक–६ स्थित घिमिरे सुपर मार्केटनजिकै बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति भने नभएको प्रतिनिधिले बताएका छन् ।
यसैबीच काठमाडौंको कोटेश्वर तीनकुने पुलको छेवैमा रहेको बिजुली पोलमा कालो झोलामा खतरा लेखिएको अवस्थामा बम फेला परेको छ । त्यस्लाई भर्खरै डिस्पोज गरिएको छ । डिस्पोजबाट भौतिक क्षति नभएको जनाइएको छ । पोल रहेको स्थान तीनकुने प्रहरी कार्यालयको मुख्य गेटमा पर्छ । बम रहेको क्षेत्रलाई प्रहरीले घेरा हालेर राखिराखेको थियो । त्यसक्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्नसमेत रोक लगाएको थियो । बम कसले र के उद्देश्यले राखिएको हो भन्ने अझै खुल्न सकेको छैन ।
रोकिएन गिरफ्तारी श्रृंखला
बन्दका क्रममा तनहुँको दुलेगौँड बजारबाट रामराजा महत, सल्यानको कपुरकोट क्षेत्रबाट नारायण वली र रविन्स महतरालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । बन्दकै क्रममा पश्चिम सुर्खेतबाट धनबहादुर नेपाली, कमल बुढा, रत्न बिक र डोल्पाबाट गोकर्ण थापा गिरफ्तार परेका छन् भने कञ्चनपुरबाट राजेन्द्र बिष्ट, विरेन्द्र शाह, र मानबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीसँगको झडपमा विरेन्द्र शाह र कमल बुढा घाइते भएको जनाएका छन् ।
बन्दका कारण कलेज, विद्यालय, कलकारखाना, पसल खुलेका छैनन् । विभिन्न पेशामा रहेका व्यवसायी र अधिकारकर्मीहरुले ओली सरकारले राजनीतिक गतिविधिमाथि हस्तक्षेप गरेर ठीक नगरेको भन्दै विरोध गर्न थालेका छन् । उनीहरुले हस्तक्षेपलाई ओलीलाई पहिलो गाँसमै ढुंगा सावित हुने समेत दाबी गरेका छन् ।













