जनयुद्ध दिवसकै दिन एमालेसँग पार्टी एकताको घोषणा: प्रचण्ड
काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँगको पार्टी एकता आजै टुंग्याउने तयारी भइरहेको बताएका छन् ।
पार्टीको युवा संगठन वाइसीएल नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘आज ऐतिहासिक दिन, जनयुद्ध सुरु भएकै दिन आज पार्टी एकता प्रक्रिया टुंग्याउने हाम्रो तयारी छ ।’ प्रचण्डले एमालेसँग एकता भए आफ्नो सबैभन्दा ठूलो खुशीको क्षण हुने समेत बताए ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन घण्टा लामो बार्ता गरेका प्रचण्डले आज पुनः ओलीसँग छलफल गरेर आजै पार्टी एकताको घोषणा हुन सक्ने जानकारी दिए ।
हिजो दुबै अध्यक्षबीच भएको वान टु वान वार्तापछि प्रचण्ड निकै उत्साहित भएका छन् । केही दिन एकतालाई लिएर तनावमा रहेका प्रचण्डले चितवन पुगेर आफू फड्को हान्न सक्ने भन्दै एमालेलाई घुमारो भाषामा चेतावनी दिएका थिए । चेतावनीपछि काठमाडौं पुगेका प्रचण्ड र ओलीबीच हिजो भएको वार्तामा पार्टी नेतृत्व आलोपालो गर्ने सहमति भइसकेको बताइन्छ । तर, यसबारे एमालेले केही बताएको छैन ।













