सभामुखमा थापा बाहेक कसैको उम्मेदवारी परेन
कैलाली, २७ माघ । प्रदेश ७ को सभामुखमा एमाले सांसद अर्जुृन बहादुर थापा निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।

प्रदेश सभा सचिवालयले आज दिउसो १ बजेदेखि ५ बजेसम्म सभामुखको लागि उम्मेद्वारी दर्ताको समय तोकेकोमा उक्त समयमा कसैको पनि उम्मेद्वारी नपरेपछि थापा सात नम्बर प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।
उम्मेद्वारी दर्ता गर्दा थापाको प्रस्तावकमा एमालेका सासद तथा कैलाली अध्यक्ष दीर्घ सोडारी र समर्थक प्रस्तावित मुख्यमन्त्री तथा माओवादी नेता त्रिलोचन भट्ट रहेका थिए ।
सभामुखमा निर्विरोध निर्वाचित हुने निश्चित भएपछि थापाले सात नम्बर प्रदेशको विकाशकालागि सत्तापक्ष र प्रतिपक्षसंग समन्वय गर्ने बताए । उनले यसअघि पनि विभिन्न तहमा रहेर नेतृत्व गरेका कारण आफुले पाएको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
प्रदेशकालागी आवश्यक पर्ने कानुन निर्माणलाई विषेश ध्यान दिने उनले बताए । सभामुखको उम्मेद्वारी दर्ताका लागि तोकिएको अवधिमा थापा बाहेक अन्य दलका कुनै पनि सासदले उम्मेद्वारी दर्ता नगरेको ससद सचिवालयका प्रमुख मुरारी महतले जानकारी दिए ।
यद्यपी, थापालाई सभामुखमा निर्वाचित भएको घोषणा भने माघ २९ गते दिउसो १ बजे प्रदेश सभाको बैठकले गर्ने महतले बताए । भोलि १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने र १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दावी विरोधमाथि छानविन गरिने, २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।













