राष्ट्रिय सभा निर्वाचन भैरहँदा राजपाका सांसद ‘आलु खन्न’ व्यस्त !

राष्ट्रिय सभाको लागि प्रदेश नम्बर ७ को डोटीमा आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीका दुई जना सांसद भने भाग लिएनन् ।

सांसदद्वय मालामति रानाथारु र कृष्णबहादुर चौधरीले भाग नलिएका हुन्  । जम्मा २ सय २९ जना मध्ये २ सय २५ जनाले मात्रै मतदान गरे ।
पहाड(डोटी) मा निर्वाचन भैरहँदा तराईमा घर भएका उनीहरु घरायसी कामधन्दामा व्यस्त थिए । समानुपातिक प्रदेश सांसद रानाथारु आलु खन्नमै व्यस्त थिइन्, भने प्रत्यक्ष तर्फ निर्वाचित सांसद चौधरी भने घरको सरसफाईमा व्यस्त थिए ।

निर्वाचनमा किन भाग नलिएको ? भन्ने लोकान्तरको जिज्ञासामा सांसद राना थारुले भनिन्–‘पहिलो कुरा हाम्रो उम्मेदवार नभएर हामी चुनावमा भाग लिएनौं । दोस्रो कुरा कुनैपनि दलका उम्मेदवारले आफुहरुलाई वास्तै गरेनन्, भोटै मागेनन् त हामी कसलाई र के को लागि भोट हाल्ने ?’

त्यस्तै, उनले राज्यले आफूहरुप्रति धेरै नै अन्याय गरेको बताइन् । आफुहरुले राज्य संग राख्दै आएको थरुहट आन्दोलन सम्बोधन तथा टीकापुर घटनावारे गम्भिर नभएकोले टिप्पणी गरिन् । आफ्नो पार्टीका उम्मेदवार रेशम चौधरीले अत्याधिक मतले विजयी हुँदा पनि प्रमाणपत्र नदिइएको उनको भनाइ छ ।

त्यस्तै तपाईहरु यो निर्वाचनलाई वहिष्कार गरेको हो ? भन्ने प्रश्नमा सांसद चौधरी भन्छन्–‘वास्तममा सवाल बहुत गम्भिर छ, पहिलो त, हामीलाई कसैले मतलबै गरेनन् । तर हामी राज्य गम्भिर बन्नुपर्छ भनेर आवाज उठाउदै आएका छौ ।’