सगरमाथा आरोहण महिला पत्रकारलाई फोनिजको शुभकामना

काठमाडौं, २१ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले विश्वका सर्वोच्च शिखर सगरमाथा आरोहणको अन्तिम तयारीमा रहेका महिला पत्रकार टोलीलाई एक कार्यक्रमको आयोजना गरी शुभकामना प्रदान गरेको छ ।

आइतबार फोनिज केन्द्री कार्यालय बबरमहलमा फोनिज केन्द्र र काठमाडौं जिल्ला शाखाले संयुक्त रुपमा आयोजित शुभकामना कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, महासचिव गजुर्धन राई, निवर्तमान अध्यक्ष मोहनसिं लामालगायतले आरोहण टोलीमा रहेका महिलाहरु पत्रकारले गर्न लागेको सगरमाथामा आरोहणको पूर्ण सफलताको कामना गरे । उनीहरुलाई दीप प्रज्वलनसहित खादा लगाएर शुभकामना प्रदाने गरेका थिए ।

महिला पत्रकारहरुले गर्न लागेको सगरमाथा आरोहणले नेपाली आदिवासी जनजाति पत्रकारहरुको मात्र नभई सिंगो नेपाली महिला पत्रकारहरुका लागि गौरवको विषय बनेको र आरोहण सफलपछि सम्पूर्ण पत्रकारहरुकै शिर उचोँ बनाउने विश्वास व्यक्त गर्दै वक्ताहरुले आरोहण पत्रकारिता जगतकै लागि गौरवको विषय भएकोले यसका लागि आवश्यक पर्ने साधन स्रोतमा अभाव हुन नदिन सरकारसँग आग्रह गरेका छन् । त्यसनिम्ति आफुहरुले सक्दो प्रयास जारी राख्ने बताए ।

आउँदो अप्रिलमा महिला पत्रकारहरु रोजिता बुद्धाचार्य, पूर्णिमा श्रेष्ठ, रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन र देउराली चाम्लिङले सगरमाथा आरोहण गर्दैछन् । उनीहरु सबैजना पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनीहरुले ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ ब्यानरसहित आरोहण गर्दैछन् ।

त्यस्तै शेर्पा महिला पत्रकार संघका निवर्तन अध्यक्ष डोमा शेर्पाले पनि यही अप्रिलमा सर्वोच्च शिखर सगरमाथामो आरोहण गर्दैछिन् । कार्यक्रममा आरोहणको उद्देश्यबारे धारणा राख्दै प्रथम शेर्पा महिला पत्रकारको रुपमा समेत आरोहण गर्न लागेकी पत्रकार डोमाले आरोहण अभियानसँगै आफूले फोनिजमा महिला पत्रकार अक्षय कोष स्थापना गर्ने समेत घोषणा गरेकी छन् ।

कार्यक्रममा फोनिजका महिला सचिव रजनी तामाङ, काठमाडौंका अध्यक्ष मीरा राजभण्डारी अमात्य, सचिव सागर लामालगायतले आरोहण टोलीका सदस्यहरुलाई आरोहणको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।