दरबारमार्ग बलात्कार घटनामा नयाँ ‘ट्विस्ट’, डिएसपी नै तानिए छानवीनमा

काठमाडौं, १७ माघ । काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटेलमा भएको सामूहिक बलात्कारको घटनामा महानगरीय प्रहरी बृत्त दरवारमार्गका प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती पनि तानिएका छन् ।
बलात्कारको घटनालाई लेनदेनमा मिलाएको अभियोगमा डिएसपी तानिएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले डिएसपीमाथि छानवीन थालेको हो । छानवीनका लागि डिएसपी भारती महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएका छन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिएसपी भारतीमाथि पनि अनुसन्धान थाल्न काठमाडौं परिसरमा तानिएको हो । भारतीयको ठाउँमा दरबारमार्गमा नयाँ डिएसपी पठाउने तयारी भइरहेको जनाइएको छ ।
घटनाको छानवीनका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा समिति गठन गरिएको थियो । समितिले घटनामा दरबारमार्ग बृत्तका प्रहरी निरीक्षक ९इन्सपेक्टर० लक्ष्मणसिंह ठकुरी र डिएसपी भारतीको संलग्ना रहेको प्रारम्भिक अनुमान गरेको छ ।
इन्सपेक्टर ठकुरीलाई प्रहरीको नक्सालस्थित १ नम्बर गणमा सरुवा भइसकेको छ ।
बलात्कारको घटनालाई आर्थिक लेनदेनमा मिलाउन भूमिका खेलेको भन्दै दरबारमार्ग बृत्तको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीमाथि समेत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
घटनाप्रति महानगरीय प्रहरी आयुक्तको कार्यालयले समेत चासो देखाउँदै अनुसन्धानको लागि समिति गठन गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले प्रहरी बरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीको संयोजकत्वमा छुट्टै समिति गठन गरेको हो । लोकान्तरबाट













