प्रदेश ७ मा सबै मन्त्रालयको भवन टुङ्गो, दलीय भागबन्डा नमिल्दा संरचना बन्नमा ढिलाई

कैलाली, १७ कैलाली । प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीमा प्रदेश मन्त्रालयका लागि भवनको टुङ्गो लागेपनि दलिय भागबन्डा नमिलेको कारण संरचना बन्नमा ढिलाई भएको छ ।

भवन व्यवस्थापन समितिको बैठकले ७ वटै मन्त्रालयका भवनहरुको टुङ्गो लगाएको हो । तर संरचना निर्माणको काममा भने सुस्तता आएको छ ।

मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीको रातोपुलमा निर्माण भइरहेको यातायात कार्यालयको भवनमा रहनेछ । त्यसै गरी सामाजिक विकास मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालयको निर्माणाधीन भवनमा रहने भवन व्यवस्थापन समितिका सदस्य सचिव सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय जिल्ला कृषि विकास कार्यालय कैलालीको भवनमा रहनेछ भने भौतिक पूर्वाधार विकास मन्त्रालय क्षेत्रीय सिञ्चाई निर्देशनालय कैलालीको भवनमा रहनेछ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तारानगरमा रहेको क्षेत्रीय पशु सेवा तालिम केन्द्रको भवनमा रहनेछ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा रहनेछ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय आन्तरिक राजश्व कार्यालय कैलालीको आवासका लागि निर्माण भइरहेको भवनमा राख्ने सदस्य सचिव बोहराले जानकारी दिए ।

सम्बन्धित कार्यालयका कार्यालय प्रमुखले प्रयोग गरिरहेका आवासलाई रङरोगन गर्ने र सोही आवासहरुमा मन्त्रीहरु बस्ने बोहराले बताए । उनले मुख्य मन्त्रीका लागि पनि निर्माणाधीन यातायात कार्यालयकै भवनमा आवासको व्यवस्था गरिने जानकारी दिए ।

संरचना बन्नमा ढिलाईः

राजनीतिक दलका नेताहरुले आ–आफ्ना निकट निर्माण कम्पनी र ठेकेदारहरुलाई काम दिनुपर्ने भन्दै दबाब दिन थालेपछि निर्माणको काममा ढिलाई भैरहेको छ ।

भवन तथा शहरी विकास डिभिजनका प्रमुख रविन्द्र वोहराले राजनीतिक दबाबका कारण सूचना नै जारी गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए । ‘दलहरुवाट दबाब आएकाले नै सूचना प्रकाशित गरी आवश्यक पूर्वाधार निर्माण गर्ने तयारी गरिएको हो’, वोहराले भने–‘२० गतेभित्र प्रदेशसभा हल, प्रदेशसभा सचिवालय, सभामुखको कार्यालय तयार भइसक्ने छन् ।’

त्यस्तै, प्रदेश सभा हलको डिजाइन आउन ढिलो भएकाले पनि काम सुस्त देखिएको बताउदै आज बुधबार बिभिन्न मन्त्रालयको आवश्यक पूर्वाधार निर्माणका लागि सूचना प्रकाशित गरी काम शुरु गरिने जानकारी दिए ।