डेढ दशकदेखि जंगलमा सिगास टोलका सुकुम्वासी 

धनगढी १६ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ८ स्थित सिगास टोलका सुकुम्वासी र भुमीहीनहरु कष्टकर जीवन बिताउन बाध्य भएका छन । डेढ दशकदेखि वस्दै आएका भुमीहीनहरु आधारभुत अधिकारवाट समेत वन्चित रहेका छन । बस्ने बासभन्दा बस्तीका अरु कुनै सुविधा प्राप्त नभएकाले कष्टकर जीवन बिताउँदै आएको पिडितहरुको गुनासो रहेको छ । गणतन्त्र आएर जनप्रतिनिधि चुनिदा समेत कष्टकर रुपमा वाचिरहेको उनीहरुको गुनासो रहेको छ ।

भुमिहिन १२ परिवारहरु वनरा नदीको किनारमा वस्दा उनीहरुलाई विभिन्न समस्याले सताईरहेको छ । स्थानीयहरु पनि पटक पटक दुःख दिने र जिल्ला वन र सामुदायिक वनले पनि पटक घर टहरा भत्काउँदा समस्या भएको स्थानीय कल्चु साउँदले बताउनुभयो । यो समुदाय बसेको भौगलीक अवस्था बनारा नदीको किनारमा कृष्ण सामुदायिक बनको छेउमा महेन्द्र राजमार्गको उत्तरपट्टि पुलको किनारमा रहेको छ । खेती गर्नको लागि जग्गा छैन ।

घर पनि स्याउला तथा घासले छाएको र प्लास्टीकले ढाकेको छ । हावा हुरी, बाढीको उत्तिकै जोखीम रहेको छ । तर कुनै अन्य स्थानमा जग्गा पनि नभएको र व्यवस्थापन पनि नभएका कारण वाँच्न पाउने अधिकारवाट वन्चित हुँदै आएको स्थानीय गौरीलाल दमाईले बताउनुभयो । निर्वाचनका समयमा भोट माग्न आउने नेताहरुले पटक पटक सुकुम्वासी र भुमीहीनहरुको व्यवस्थापन गर्छु भन्ने नारा लगाउने तर केही पनि नगर्ने गरेको उहा बताउनुहुन्छ ।

पिडितहरुले स्थायि वसोवासको लागि जग्गा उपलब्ध गराई आवासको व्यवस्था हुनु पर्ने माग गर्दै आउँदा तीन पुस्ता विताईसकेका छन । तर उनीहरुको वास डेढ दशकदेखि जंगलमा हुँदै आएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २५ मा प्रत्येक ब्यक्ति र उसको परिवारलाई राम्रो जीवनस्तरमा वाच्नका लागि पर्याप्त स्वास्थ्य लगायत खाना, कपडा, वास तथा औषधी उपचारका सुविधाहरु राज्यले उपलब्ध गराउने व्यवस्था रहेको छ । उनीहरुप्रति राज्यले आफ्नो परिपूर्तिको दायित्व समेत पुरा गरेको छैन । दिनेश एफएमबाट