प्रदेश नंं. ७ मा १७२ जना नयाँ कुष्ठरोगी फेला

धनगढी, १३ माघ । प्रदेश नं. ७ मा १ सय ७२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नौ जिल्ला रहेको यस प्रदेशमा आव ०७३र०७४ को कार्तिक मसान्तसम्ममा १ सय ७२ जना नयाँ रोगी फेला परेका हुन् । तिनीहरु हाल उपचाररत रहेको नेदरल्याण्ड लेप्रोसी रिलिफ नेपालका निर्देशक डा। केपी ढकालले बताए ।

उसो त हालसम्म यहाँ जम्मा १ सय ९८ जना कुष्ठरोगका विरामीहरु रहेका छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा १ सय ६ जना रहेका छन् । भने कञ्चनपुरमा ४७, अछाममा २२, डोटीमा ५, बाजुरामा ३, डडेल्धुरामा ४, बैतडीमा ४ बझाङमा ४ जना रहेको निर्देशक ढकालले जनाए ।

उनका अनुसार अधिराज्यभर आ।व। २०७३र०७४ सालमा ३ हजार २ सय १५ जनामध्ये २ हजार ६ सय २६ जना उपचारत छन् । मुलुकको १६ जिल्ला अतिप्रभावित रहेको बताउदै उनले प्रदेश नं। ७ को कैलाली, कञ्चनपुर र अछाम जिल्ला पनि अतिप्रभावितमा पर्ने उल्लेख गरे ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका क्षेत्रीय निर्देशक डा। अनुज भट्टचनले कुष्ठरोगबाट मानिसहरुको मृत्यु नभए पनि अपाङ्ता हुने र समाजबाट अपहेलित जीवन जिउनुपर्ने बाध्यता रहेको बताए ।

अन्धविश्वासकै कारण पहिले–पहिले यो रोगलाई देवी देउताको श्राप, पूर्वजन्मको कर्मको फल भनेर चिनिन्थ्यो । तर, यो रोग माइक्रो ब्याक्टेरियम लेप्रे ब्याक्टेरियाबाट हुने निर्देशक डा। भट्टचनले जानकारी दिए । समयममा उपचार गरे निको हुने यो रोगको औषधी स्वास्थ्य, संस्थामा निःशुल्क पाइने व्यवस्था सरकारले गरेको छ ।

अतिप्रभावित मानिएको कैलालीको प्रायः सबै स्थानीय तहमा रोगीहरु रहेको आशंका गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टंक चापागाईका अनुसार जिल्लाको लम्की–चुहा नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका प्रभावित रहेको छ ।

यसैबीच जिल्लाका ती ६ स्थानीय तहहरुमा माघ १४ गतेदेखि कुष्ठरोगी खोजी अभियान संचालन गरिने भएको छ । ‘कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकामा शुन्य अपाङता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ६५ औं कुष्ठरोग दिवसको अवसरमा माघ १४ गतेदेखि जनचेतनामूलक कार्यक्रमसहित अभियान सञ्चालन गरिने भएको हो । लोकान्तर