प्रदेश ७ को मुख्यमन्त्री बन्न माओवादीमा हानथाप
धनगढी, १२ माघ । प्रदेश नं. ७ को मुख्यमन्त्री वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले पाउने करिब–करिब निश्चित भएसंगै माओवादीका प्रदेश सांसदहरुबीच मुख्यमन्त्री बन्न हानथाप बढेको छ ।

प्रदेश सांसदहरु आ–आफ्नो पक्षमा मत सिर्जना गर्न केन्द्रीय नेतृत्वलाई रिझाउनेदेखि मिडिया क्याम्पेनिङमा समेत जुटेका छन् ।
माओवादी केन्द्रभित्र वीरमान चौधरी र झपट बोहराको नाम चर्चामा रहेका बेला अर्का सांसद अक्कल रावलले पनि आफ्नो दाबी रहने बताएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित सांसद एंव पार्टीका पोलिटव्यूरो सदस्य वीरमान चौधरीको नाम सार्वधिक चर्चामा छ । चौधरीलाई मुख्यमन्त्री बनाए थारु सेन्टिमेन्टको सम्बोधन हुने र पार्टीभित्र पनि वरिष्ठता र योगदानको कदर हुने उनी निकट व्यक्तिहरु बताउँछन् ।
मुख्यमन्त्रीका अर्का दाबेदार हुन् झपट बोहरा । अछाम निर्वाचन क्षेत्र नं। १ (ख) बाट निर्वाचित बोहराले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताउँदै आएका छन् ।
अछाम निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित अक्कल रावलले पनि आफ्नो दाबी पेश गरेका छन् । बिहीबार धनगढीमा पत्रकार सम्मेलन नै गरेर रावलले मुख्यमन्त्रीमो आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
पार्टीको पोलिटव्यूरो सदस्य समेत रहेका रावलले आफू मुख्यमन्त्रीको प्रवल दाबेदार रहेको उल्लेख गरे । ‘पार्टीमा मैले गरेको त्याग, संघर्ष, भोगेको जेल जीवनको कदर गर्दै मलाई अवसर दिनुपर्छ, अवसर पाएको खण्डमा सबैलाई मिलाएर लैजान सक्छु’, उनले भने ।
डोटीमा जारी आन्दोलनको सेन्टीमेन्टलाई सम्बोधन गर्न पनि आफूलाई जिम्मेवारी दिनुपर्ने उनको भनाई थियो ।
उसो त वाम गठबन्धन चुनावी दौरानमा विभिन्न खाले प्रतिवद्धता पत्र र घोषणा पत्रसहित मतदातासामु पुगेको थियो ।
चुनावी अभियानकै क्रममा कैलालीको मसुरियामा पत्रकार सम्मेलन गरी जारी ३७ बुँदे प्रतिबद्धतापत्र अनुसार वाम गठबन्धनको बहुमत आएमा थारु समुदायबाट प्रदेश प्रमुख र मुख्यमन्त्री बनाउने वाचा सार्वजनिक गरेको थियो ।
अहिले थारु समुदायबाटै मुख्यमन्त्री बनाउनु पर्ने नैतिक दवावसमेत वाम गठबन्धनलाई छ ।
प्रदेश नं. ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत गरी ५३ जना प्रदेश सांसद छन् । लोकान्तर













