डिपीएल क्रिकेटमा सहभागि हुने टिमको घोषणा
कैलाली, १० माघ । आगामी चैतमा हुने दोस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सहभागी हुने टोलीको घोषणा भएको छन् ।
धनगढी क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन आयोजना गर्दै ६ सहरका ६ फ्रेन्चाइज टिमको घोषणा गरेको हो । चैत १७ गतेदेखि वैशाख १ सम्म सञ्चालन हुने प्रतियोगितामा एक टिम नयाँ आएको छ । अन्य पाँच टोली भने पहिलो संस्करणकै टिम रहेको छन् ।
यस्तै डिपिएल क्रिकेटको ६ टोलीले आफ्नो टिमको रणनीतिक खेलाडी घोषणा गरेको छ । सार्वजनिक गरिएको रणनीतिक खेलाडीमा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु रहेका छन् । पहिलोपटक डिपिएल खेल्न लागेको महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी, टिम चौराहाका सोमपाल कामी, अत्तरियाका दिपेन्द्र सिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र बिराटनगरका पारस खड्का रहेका छन् ।
डीपीएलको अक्सन फागुन ५ गते हुनेछ । प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी किन्न पाउने छ । जसमा एक टिमले खेलाडी किन्न ११ लाख खर्च गर्न पाउनेछन् । यस्तै प्रत्येक क्लबले २ जना विदेशी खेलाडी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमाञ्चलका एक खेलाडी राख्नु पर्ने आयोजकले मापदण्ड तोकेको छ ।
दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछन् । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्ने छन् । गत वर्षको विजेता टिम चौराह धनगढीले १५ लाख र उपविजेता विराटनगर किंग्सले ७ लाख पाएका थिए ।
प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छन् । टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् ।













