विकासप्रेमी आन्दोलनमा प्रहरीको दमन, वडा अध्यक्ष सहित १३ जना पक्राउ

धनगढी, ५ माघ। धनगढीमा ६ लेन सडकको चौडाई घटाउन नहुने भन्दै विकास प्रेमीहरुले गरेको आन्दोलनमा प्रहरीले दमन गरेको छ । प्रहरी दमनको बिरोधमा स्थानिय वासिन्दाहरु सडकमा उत्रिएका छन । उनिहरुले पक्राउ परेका १३ जनालाई निसर्त तुरुन्तै रिहाईको माग गरेका छन । बजार बन्द आव्हान गर्दै शुक्रवार ट्राफिक चौराहमा शान्तिपुर्ण प्रदर्शन गरिरहेका बेला वडा अध्यक्ष सहित १३ युवालाई पक्राउ गरिएपछि त्यसको चौतर्फी बिरोध सुरु भएको छ ।
प्रहरी उपरिक्षक बिनोद धिमिरेको नेतृत्वमा युवाहरुलाई पक्राउ गरिएपछि प्रहरीका बिरुद्ध सडकमा नारावाजी भईरहेको छ । अपराधीहरुलाई संरक्षण गर्ने प्रहरीले विकास प्रेमी युवालाई पक्राउ गरेको भन्दै बिरोधका लागि ठुलो संख्यामा स्थानिय वासिन्दा सडकमा उत्रिएका छन् । वडा नम्वर ३ का अध्यक्ष वलवहादुर ऐर वडा सदस्य ओम विक्रम चन्द मदन भट्ट लगायतलाई प्रहरीले पक्राउ गरेको हो । तर प्रहरी विरुद्ध विकास प्रेमीहरुले आन्दोलन चर्काउने चेतावनी दिएप्छि पक्राउ परेकाहरुलाई प्रहरी केही घण्टापछि रिहा गरेको छ ।
एमालेका सचिव रणबहादुर चन्द, नेपाली कांगेसका सचिव पुर्ण कुँवर, विवेकसिल साझा पार्टीका प्रदेश संयोजक गोपाल हमाल, माओवादी केन्द्रका नेता रमेश धामी लगायतले चौराहमा आयोजित बिरोध सभालाई संबोधन गर्दै प्रहरी दमनको निन्दा गरेका छन् ।
दृष्टीबिहिन अर्जुन रावलको नेतृत्वमा रहेको युवा दवाव समुहले आव्हान गरेको बन्दको समर्थन गर्दै स्वस्फुर्त रुपमा जनता सडकमा उत्रिएका छन । धनगढी अत्तरिया सडक ६ लेनको बनाउन नहुने भन्दै आफ्नो घर परेका १३ जना घरधनीले सर्वोच्चमा रिट हालेका छन् । १३ जनाका कारण विकास रोक्न नहुने भन्दै यहाँ आन्दोलन सुरु भएको हो ।













