रुखको जरामा एक पुरुषको बेवारिसे शव फेला

कञ्चनपुर, ५ माघ । जिल्लामा रुखका जरामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको हो।

प्रहरीका अनुसार दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको थियो । शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

शवको हालसम्म सनाखत हुन सकेको छैन । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालतर्फ पठाइएको छ । शव परीक्षण पछि मृत्युको कारण खुल्ने भएकाले त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइने प्रहरीले बताएको छ ।