बालुवाटारमा घम्साघम्सीः मन्त्रिपरिषद् बैठक स्थगित, यी हुन् प्रदेश प्रमुखको लागि एक नम्बरमा परेकाहरु
काठमाडौँ, ३ माघ। मन्त्रिपरिषद् बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने भन्दै बुधबार विहानैदेखि बैठक बसेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले थप छलफलको आवश्यकता भएको भन्दै पुनः बस्ने गरी सकिएको हो । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार बैठक आजै दिउँसो ३ बजे पुनः बस्नेछ ।
बालुवाटार स्रोतका अनुसार मन्त्रीहरुबीच नै एक रुपता नभएपछि सरकारले प्रदेश प्रमुख नियुक्त गर्न सकेन । विशेषगरी राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्रीले प्रस्ताव राखेका नामहरुमा सहमति नजनाएपछि प्रधानमन्त्री देउवा समस्यामा परेका हुन् ।
केही मन्त्रीहरुले एमाले र माके निटक व्यक्तिहरुलाई पनि प्रमुख नियुक्त गर्नुपर्ने कुरा समेत उठेको थियो । एमाले र माकेपनि सहमत हुन सक्ने पात्रलाई पनि नियुक्त गर्नुपर्ने बताएका थिए ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेस निकट व्यक्तिहरुको नाम मात्रै बैठकमा पेस गरेका कारण विवाद भएको थियो ।
प्रधानमन्त्री देउवाले आफ्नो पार्टी र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्न समय मागेपछि बैठक ३ बजेसम्मलाई स्थगित भएको हो ।
यी हुन् प्रस्तावको एक नम्बरमा परेका नाम
प्रदेश १ मा गोविन्द सुब्बा, २ मा उमाकान्त झा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ ।
गोविन्द सुब्बा कांग्रेसका पुराना नेता हुन् भने झा खिलराज रेग्मी सरकारका मन्त्री हुन् । अनुराधा कोइराला माइती नेपालकी अध्यक्ष हुन् भने बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । यस्तै दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् । मोहनराज मल्ल पूर्वराष्ट्रिय पञ्चायत सदस्य हुन् । त्यसैगरी बैठकमा पूर्वप्रधानसेनापति रुकमांगत कटुवालको बारेमा पनि छलफल भएको बताइएको छ । तर, उनी प्राथमिकतामा छैनन् ।













