मालिका टोल सुधार समितिद्वारा अस्पतालमा तालाबन्दी

धनगढी, ३ माघ . कैलाली जिल्लाको गोदावरी नगरपालिकामा अवस्थित सरकारी अस्पताल मालाखेती अस्पतालमा स्थानीय टोल सुधार समितीको नेतृत्वमा तालाबन्दी गरिएको छ ।

अस्पतालद्वारा प्रदान गरिने सेवा नपाएको, अस्पतालमा व्यापक भ्रष्टाचार भएको, अस्पताल प्रशासनद्वारा मनोमानी तरिकाले कर्मचारी हटाउने र राख्ने गरेको आरोपमा अस्पतालमा तालाबन्दी गरिएको बताइएको छ ।

८ वर्षदेखि सेवारत अनमि विष्णुमाया बुढालाई पनि अस्पतालले विना कारण हटाएको उनले बताए । अस्पतालबाट नहटाउन नगरपालिका र जिल्ला प्रशासन कार्यालयले निर्देशन समेत दिएको बुढाले बताईन् ।

गोदावरी नगरपालिका वडा नं ३ मालिका टोल सुधार समितिका अध्यक्ष प्रेम बहादुर भोलाले अस्पतालमा २४ सै घण्टा सेवा पाउनुपर्ने माग राख्दै तालाबन्दी गरिएको बताए । ‘अस्पतालमा २४ घण्टे प्रसुती सेवा छ तर सुत्केरी गराउन ल्याउँदा कर्मचारी कोही नभेटिएपछि निजी अस्पतालमा लिएर सुत्केरी गराउनु पर्ने बाध्यता छ ।’ स्थानीय राम बहादुर थापा ले भने ।

अस्पतालका अध्यक्ष भरत खड्का विना कारण अनमि विष्णुमाया बुढालाई हटाएको र मनोमानी ढंगले थप तीन जना नयाँ कर्मचारी नियुक्ति गरिएकोले आफ्नो आपत्ति रहेको बताए ।